फस्ट फ्लाइट

बिहानको ११ बजिसकेको छ । म पोखरा विमानस्थलमा छु । यात्रु सेवा शुल्क दुइटा गैंडा तिरें । त्यसपछि सोझिएँ बुद्ध एअरतिर । बोर्डिङ पास गराउनुपर्ने रहेछ । ताँतीमा धेरैजसो विदेशी यात्रु थिए । सेता छालाहरु, भारतीय छालाहरु, अनि हामी केही नेपाली छालाहरु ।
मेरो झोलाको पालो आयो । झोला फेल भएन । पास भएको सर्टिफिकेटमा भँगेराटाउके अक्षरमा लेखिएको छः बुद्ध एअर, फ्लाइट नं ६१०, सिट नं २ डी । अनि मुन्तिर लेखिएको छ—ह्याभ अ प्लिजेन्ट फ्लाइट । झोलाहरु भृकुटी मण्डपको बाल रेलमा जस्तै सरर गए सेकुरिटी चेकका लागि । अब पालो हाम्रो । ताँतीमा उभिएँ । ढोकामा सइ सा’ब उभिएका थिए ।
उनीभन्दा अगाडि उभिएको थियो पर्दा । भित्रबाट आवाज आयो—नेक्स्ट । म पनि ‘नेक्स्ट’ हुन पसें, आफ्नो पालोमा । टेबलमा खुरुक्क राखिदिएँ झोला । साथमै लान पाइने सानो झोला । झोलामा मात्रै होइन, जीउमै पनि छापा मार्ने रहेछन् । मेरो राजधानीमा पुलिसको हात पुग्दा म जिरिङ भएँ । मलाई प्रस्थान कक्षतिर इसारा गर्दै उनले भने—नेक्स्ट । प्रस्थान कक्षमा हामी टनाटन भयौं । अझै करिब १ घन्टा छ धर्ती छाड्न ।
कता कता छटपटी जस्तो, त्रासजस्तो पो भइरहेछ । खेल जित्न अन्तिम बलमा छक्का हान्नुपर्ने दबाब झेल्दै गरेको ब्याट्सम्यान जस्तो । पिसाब गरुँ गरुँँ लाग्यो । केही बेरअघि मात्रै त हो पिसाब फेरेको । नयाँ भरिइसकेछ । टट्टी गएँ । घडी हेरें । अझै आधी घन्टा जति छ समय । कहिले यता, कहिले उता गर्दै छु । बुद्ध एअरकै टिकटवाला एक जोडी छुट्टै संसारमा थियो । दुवैले गगल्स लाएका । आइस क्रिम चाटाचाट गर्दै ।
कंक्रिटको जंगललाई नाघ्दै जहाज हुइँकिदै छ । अघिदेखि नै घचक्क घचक्क हुँदै थियो
बाहिर भयंकर आवाज सुनियो । सिम्रिक एअरको जहाज उड्न पखेटा फट्फटाउँदै रहेछ । हेर्दाहेर्दै जहाज कछुवाको गतिमा दायाँतिर मोडियो । त्यही गतिमा सीधा अगाडि गुड्यो । केही अगाडि पुगेर बायाँ मोडियो । रिले दौडिन मार्क अन गरेको धावकजस्तै जहाज अगाडि सीधा हेरेर उभियो ठिङ्ङ । साह्रै अत्यासिएझैं जहाज घिघ्रियो —ग्वाँ …. । बुल फाइटिङको साँढे जस्तै आक्रामक मुद्रामा कुद्यो । जहाजले भूइँ छाडेको देख्न भने भित्ताले दिएन । मेरो धड्कन बढेर उत्पात । अस्तिमात्रै त हो जोमसोममा ल्यान्ड गर्ने क्रममा जहाज दुई टुक्रा भएको । धन्न सबै बाँचे ।
फेरि पिसाब गरुँ गरुँ लाग्छ ए ! के भइरहेछ मलाई ? सुसु लागेको लाग्यै हुने हुँदा सुगर भनेको भन्थे एक जना बाजे । के यो सुगर नै हो ? तीन बज्न १५ मिनेट बाँकी छ । अघिजस्तै आवाजभित्र पस्यो । यति एअरलाइनको जहाज वार्म अप गर्दै रहेछ । यतिवालाहरु गए । अब प्रस्थान कक्षमा हामी पातलियौं ।
३ बज्नै लाग्यो । बुद्ध एअरको जहाज हाजिर भइसकेछ । यता भने पिसाबले हाजिर बजाउन खोज्दै थियो फेरि । मेरो धड्कन अझ बढ्दै छ । कारण—यो मेरो फस्ट फ्लाइट हो । हावामा उड्नुछ । डर त यसै पनि लाग्ने भो मन परेको/परेकी–लाई प्रेम प्रस्ताव राख्न जस्तै ।
भर्याङबाट उक्लिनेबित्तिकै एअर होस्टेसले नमस्ते टक्य्राइन् । भित्र सिट हेर्न थालें । मलाई अर्की होस्टेसले सघाइन् । सबभन्दा अगाडिको सिटमा परें म । झ्यालतिर बस्न पाएँ । बाहिर हेरें । अत्तालिएर घुमिरहेको छ पंखा । घुयँत्रोजस्तो । सिट बेल्ट अनिवार्य बाँध्नुपर्छ भन्ने सुनेको थिएँ । बेल्ट बाँधें । एक छिनपछि एउटी युवती आइन् । सँगैको सिट उनको रहेछ । बसिन् र उनले पनि फटाफट बेल्ट बाँधिन् ।
झोला साथमै थियो । होस्टेसले झोलामाथि तख्तामा राख्न भनिन् । आडकी युवतीले फ्याट्ट बेल्ट खोलेर आज्ञापालन गरिन् । मेरो झोलाले पनि माथि बस्ने आदेश पाइसकेको छ । बेल्ट खोल्न खोज्छु, खुल्दैन । परेन फसाद ? उनी बेल्ट कसेर बसिसकेकी थिइन्, म भने बेल्ट फुकाल्न कन्दै थिएँ । मेरो उकुसमुकुस देखेर होला, उनले मलाई सहायता गरिन् । बेल्ट खोल्दिने क्रममा मेरो नाइटो वरिपरि उनका हातले भ्रमण गरे ।
याँमानको गर्जनसहित जहाजले धर्ती छोड्यो । मेरो हंसले पनि ठाउँ छोड्यो । म आफ्नै बलले जहाज अड्याउन सकूँलाझैं ठेल्दै थिएँ सिटमा । चकलेट आइपुग्यो । कति ओटा झिक्ने भन्ने थाहा थिएन । दुई ओटा टिपें । जहाजले उचाइ लिँदा र त्यसका लागि मोडिँदा ढल्किँदा रहेछन् ज्यानहरु । बसमा जस्तै घचक्क घचक्क हल्लिने पनि । गियर फेरेको होला वा …! यो हल्लाइले मेरो मन झनै हल्लायो ।
पोखरालाई टाढा छाड्दै जहाज कावा खाँदै छ । पहिलो पटक गुँडबाट उडेको बचेरोजस्तै रमाएको छु । म भने आफ्नो गाउँ देखिन्छ कि भनी चनाखो हुँदै छु । युग कविको जस्तै प्यारो मेरो जन्मभूमि । लौ जहाज त बादलुको घुम्टोमा पो पस्यो । सब दृश्य छेकिए इलाम बजारजस्तै । पछाडितिर हेरें । कोही झ्यालबाट आँखा खसालिरहेका । कोही परेला ढप्काएर उँघ्न थालिसकेका ।
पछाडि मान्छेहरु देखेपछि ढक्क भएको मन अलि ढुक्क भयो ।
केही बेरमै जहाज सघन तुवाँलोभित्र पस्यो । केही देखिएको होइन । पछाडितिर हेरें फेरि । कतै यात्रुहरु आतिएका त छैनन् ? छैनन् रहेछ । धेरै बेर नै कुहिरो टेक्दै कुद्यो जहाज । सूचना बज्यो । थाहा पाइयो, हामी काठमाडौं नजिकको आकासमा रहेछौं । थानकोटले दर्शन दियो । आकाशबाट देखिने काठमाडौं नियाले । कंव्रिmटको जंगललाई नाघ्दै जहाज हुइँकिदै छ । अघिदेखि नै घचक्क घचक्क हुँदै छ । उचाइ घटाएको होला । बुझें अब जहाजले पाइला राख्ने सारसुर गरिसकेको छ ।
प्रतीक्षाको घडी सकियो । जहाज त्रिभुवन विमानस्थलमा दगुर्न थाल्यो । अझै ढुक्क हुन सकेको थिइनँ । कारण मेरो दिमागमा जोमसोम जागिरहेको थियो । भाँचिएको जहाज । केही बेरमै जहाज रोकियो । मलाई र सायद सबैलाई ढुक्क पारेर । हामी आआफ्नो पोका, पुन्तरा बोकेर निस्कियौं । ओर्लिने बेला पनि एअर होस्टेसले एक एक वटा नमस्ते दिइन् । नमस्ते कानमा सिउरेर झरियो ! रिंगाएझैं भइरहेथ्यो मलाई भने ।
हामी झर्दा नझर्दै बस आइपुगिसकेको रहेछ । यात्रुहरु सबै त्यतै लागे । म अल्मलिएँ । पर्यटकलाई होटलमा लान आएको गाडी होला भन्ने सोचेर । मलाई सुर्ता भो झोलाको । त्यहाँ खटिएका एक जनालाई सोधिहालें, ‘अनि झोला त ?’ ‘बसमा जानुस्, उतै आउँछ,’ उनले भने ।
बस त मेरो लागि पनि आएको पो रहेछ । बुद्ध एअरकै बस । नजानेपछि के लाग्छ र ! बसले विमानस्थलदेखि बाहिर ल्याएर छाडिदियो । अब झोला लिनुपर्ने । त्यहाँ यात्रुहरु तँछाडमछाड गरेर झोला लिँदै थिए । म पनि आफ्नो नम्बर लिएर गएँ । मेरो कुपनको रंग आकासे थियो तर त्यहाँ उभिनेहरुको भने फिका प्याजी रंगको । त्यो पनि बुद्ध एअरकै भएपछि एकै ठाउँमा होला भन्ने ठानेको त होइन रहेछ । त्यो त अर्कै उडानको भन्ने थाहा पाएपछि म फेरि पनि चाउरिएँ । एक छिनपछि पो देखियो, हाम्रो फ्लाइटको झोला त आउँदै रहेछ ट्याक्टरमा चढेर लुखुरलुखुर ।
झोला लिएर त्यहाँबाट बाहिरिने क्रममा ट्याक्सीवालाले पछ्याएर धुरुक्कै पारे । उनीहरुको पर्वाह नगरी म अघि बढें । विमानस्थल प्रवेश गेटमा स्वयम्भूका दुइटा आँखा मलाई हेर्दै थिए । यस अवसरका लागि प्रकाशन संस्था फाइन प्रिन्टलाई धेरै धन्यवाद !
तपाईको प्रतिक्रिया