सोमबहादुरका सपना सम्झँदै आफन्त

समाधान संवाददाता २०८० असार २४ गते १२:१७

पोखरा ।
तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र विद्रोहको अवधिमा ८ हजारभन्दा बढीले ज्यान गुमाए । करिब ११ सय जनाको अझै अत्तोपत्तो छैन । विद्रोहका बेला हतियारधारीले लगेकाले सबैजसोका आफन्तले जिउँदै आउने आशा करिब मारिसकेका छन् । तर, राज्यले आधिकारिक रुपमा लास वा सास दिनुपर्छ भन्ने आफन्तको आवाज छँदै छ ।


बृहत शान्ति सम्झौता भएको २ दशक भईसक्दा पनि बेपत्ताको अवस्था सार्वजनिक भएको छैन । शनिबार पोखरा ३२ खुदीखोलमा भएको कार्यक्रममा सोमबहादुर विक(ज्योति)का आफन्तले उनको स्मरण गरे । ०५९ असार २३ गते राज्य पक्षले नियन्त्रणमा लिएका सोमबहादुरको झझल्को अझै उनकी आमालाई छँदै छ ।


नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको खोज सभामा सोमकी आमा ओमकुमारी भक्कानिइन् । ‘छोरा सोम तिम्रो बावा र पर्खिइरहेका छौं, तिमी छिट्टै आऊ !,’ उनी भन्छिन्, ‘गोजीमा कलम हालेर हिडेका मान्छेलाई बेपत्ता बनाउन पाइँदैन । सक्छौ सास देऊ, सक्दैनौं लास, हड्डी भए पनि देऊ ।’

Advertisement


सोमसँगै छापामारको तालिम लिएका र सँगसँगै भूमिगत रुपमा हिडेका अर्जुन मल्लले सोमहरुका सपना साकार पर्ने यात्रा अझै नछाडेको सुनाए । उनले भने, ‘सोमजीहरुले बसाएको बस्ती हो यो । हामीले उहाँहरुकै सपना साकार पार्ने यात्रा छाडेका छैनौं । छाड्यो भने खबरदारी गर्नुहोला ।’


नेकपा पोलिटब्युरो सदस्य राजन सिले नेपाली विशेषतासहितको समाजवादको यात्रा जारी रहेको जनाए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बिचौलिया व्यवस्थाको संज्ञा दिँदै उनले जनयुद्धको लक्ष्य र अहिलेको उपलब्धि भनिएको गणतन्त्रबीच कतै मेल नखाने जिकिर गरे ।

Advertisement


नेकपा कास्की सेक्रेटरी उभार सिले सहिद र बेपत्ताको त्यागको जगमा उभिएर अब बाँझी जिउँदाहरुले गम्भीरु ढंगले सोच्नुपर्नेमा जोड दिए । बेपत्ता परिवारकी राधिका सिम्खडाले छिन्नभिन्न भएका माओवादी शक्तिहरु एक नभएसम्म उपलब्धि हाँसिल नहुने विचार राखिन् ।


बेपत्ता योद्धा परिवार समाज कास्की अध्यक्ष अणनाथ बरालले सबैले मिलेर जनयुद्ध गरेकाले अहिले विभिन्न समूहमा बाँडिएका पूर्वमाओवादीहरुले समुच्चमै यसको जिम्मेवारी लिएर दायित्व बोध गर्नुपर्नेमा जोड दिए । ०३२ वैशाख १ गते साविक लेखनाथ १३ मा जन्मिएका सोमबहादुर त्यस माओवादीको सुकुम्बासी संगठन कास्की सचिव थिए ।

सोमकी बहिनी सोममायाले दाइले आफूलाई क्रान्तिको बाटो चिनाएको उल्लेख गरिन् । उनी भन्छिन्, ‘म संसार जित्न हिडेको योद्धा हुँ, म सहिद भएछु भने पनि सयौं अरु आफन्त हुनेछन् भन्नुहुन्थ्यो । घरमा छोरा नभएको महसुस नगराउन भन्नुहुन्थ्यो ।’

सोममाया अहिले वृद्ध बाआमासहित ८ जनाको परिवार चलाएर बसेकी छन् । उनी भन्छिन्, ‘अनेक कठिनाइका बीच क्रान्तिकै बाटोमा छौं । जसको कमान्डमा दाइ बेपत्ता हुन तयार हुनभो, उनीहरु नै सत्तामा हुँदा पनि दाइको अवस्था सार्वजनिक नहुँदा मुटु भक्कानिन्छ ।’

तपाईको प्रतिक्रिया