सम्पादकीय: शिक्षा सुधारका सर्त

भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल गएको समयका भन्दा सुधारात्मक देखियो । सन्तुष्ट त्यतिमै भइहाल्न भने सकिन्न । ४ जिपिए ल्याएका साढे २२ हजार जना विद्यार्थी गएको वर्षको दाँजोमा दोब्बरभन्दा धेरै हुन्, तर समग्रमा नतिजाले सन्तुष्टि दिँदैनन् । सामुदायिक विद्यालयहरुको नतिजा कमजोर छ । विद्यार्थीहरुले अंग्रेजी, गणित र विज्ञानजस्ता विषयमा गतिलो गर्न सकेका छैनन् ।
अरु त अरु नेपाली विषयसमेत कमजोर हुनु दुर्भाग्य छ । सामुदायिक विद्यालयहरुमा पढाइ कमजोर छ, विद्यालयहरुमा राजनीतिक हस्तक्षेप ज्यादा छ । शिक्षाको सरकारको लगानी न्यून छ । देशभरका विद्यालयहरुमा विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशत पनि नभएको बेलाबेलाका अध्ययनले देखाएका छन् । सबैभन्दा पछाडि पारिएकोमध्येको एक प्रदेश कर्णालीमा उपलब्धि नगन्य छ भन्दा पनि हुन्छ ।
विकसित देशहरुमा मुलुकको वार्षिक बजेटको सबैभन्दा धेरै रकम विनियोजन शिक्षामा गरिएको हुन्छ । हाम्रोमा पनि शिक्षा र स्वास्थ्यमा प्राथमिकताकै साथ बजेट राखिन्छ तर पर्याप्त होइन । सांसदहरुले खल्तीका योजना हाल्न बजेट दिन अर्थमन्त्रीहरु कन्जुस्याइँ गर्दैनन्, तर शिक्षामा बजेट बढाउन हात कमाउँछन् । देशभर ५० हजारभन्दा बढी शिक्षक दरबन्दी खाली छन् ।
सामुदायिक विद्यालयमा सरकारले आजका मितिसम्म लेखा र सहायकको एउटा पनि दरबन्दी दिएको छैन । देशको शिक्षा प्रणालीमा मौलाएको चाङकै कारण आज विद्यार्थीहरु विद्यालय शिक्षा सक्न नपाउँदै विदेशिन हतारिन्छन् । देशमै केही गर्ने उत्साह भर्न नसक्नु र त्यसका लागि उचित वातावरण नहुनु ठूलो दुर्भाग्य हो ।
व्यवस्थापन समितिमा राजनीतिक दलका मान्छे बस्छन् । उनीहरुलाई शिक्षाभन्दा पनि राजनीतिकै बढी मतलब हुन्छ ।
विद्यालयको स्रोतमा हालीमुहाली गर्छन् । विद्यालयमा विधि स्थापनाका लागि लाग्दैनन्, भत्काउन उद्दत हुन्छन् । त्यसैले नै नेपालको सार्वजनिक शिक्षा थिलोथिलो छ । शिक्षा नसुधारेसम्म समृद्धि पनि सम्भव हुँदैन । शिक्षाले नै सामाजिक र आर्थिक उन्नतिको बाटो खोल्छ । तर हाम्रो देशको दुर्गती सबैभन्दा धेरै शिक्षा क्षेत्रमै छ । बेथितिका चाङ नै शिक्षा क्षेत्रमै छ ।
शिक्षा सुधारका लागि सबैभन्दा पहिलो सर्त नै सरकारको पहिलो प्राथमिकता यसको सुधार हुनुपर्छ । बजेटको प्रमुख प्राथमिकता शिक्षा हुनुपर्छ । शिक्षाका लागि सरकारले कुनै पनि मानेमा सम्झौता गर्नुहुँदैन । राजनीतिक नेतृत्वमा शिक्षा सुधारको दृढ इच्छाशक्ति नै पहिलो सर्त हो ।
तपाईको प्रतिक्रिया