
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा स्याउ ग्रेडिङ गरी ताजा राख्न कोल्ड स्टोर (चिस्यान केन्द्र) बनेको छ ।
२०७९/०८० का लागि विनियोजित संघीय सरकारको सशर्त अनुदान ९५ लाख ५९ हजार लागतमा जोमसोममा २० टन क्षमताको कोल्ड स्टोरसहित स्याउ ग्रेडिङ उपकरणको व्यवस्था गरिएको हो ।
जोमसोममा संघीयताअघि साविक सहरी विकास तथा भवन डिभिजन बागलुङले निर्माण गरेको पुरानो भवनमा कोल्ड स्टोर तथा ग्रेडिङ उपकरण लगायतका भौतिक संरचना निर्माण गरिएको घरपझोङ गाउँपालिकाका ई. सकलदेव शर्माले जानकारी दिए । जीर्ण भवन स्तरोन्नति गरी कोल्ड स्टोर स्थापना गरिएको हो ।
कोल्ड स्टोर रहेको क्षेत्र सशस्त्र प्रहरी बल ३३ नं. गुल्म नजिकै दक्षिणतर्फ कम्पान्डसहित ३ रोपनी क्षेत्रफलमा छ । यो निर्माण गर्ने जिम्मा बिआर कन्ट्रक्सन दिक्तेलले लिएको थियो । कोल्ड स्टोरको ग्रडिङ तथा वासिङ मेसिन उपकरणले प्रतिघण्टा ५ सय केजी स्याउ गे्रडिङ र वासिङ गर्न सक्ने इन्जिनियर शर्मा बताउँछन् ।
कोल्ड स्टोर निर्माण भएसँगै जोमसोमका कृषक उत्साहित भएका छन् । घरपझोङ गाउँपालिकाको समन्वयमा निर्माण गरिएको कोल्ड स्टोरले बेमौसममा समेत मुस्ताङ आउने पर्यटकले ताजा स्याउको स्वाद लिन पाउने किसान अजित थकाली बताउँछन् ।
साढे ९५ लाख लागतमा २० टन क्षमताको कोल्ड स्टोरसँगै स्याउ ग्रेडिङ उपकरणको व्यवस्था
शनिबार जोमसोमका स्याउ किसान, समूह, सहकारी र फार्महरुलाई कोल्ड स्टोरका बारेमा जानकारी गराइएको छ । अब यो गाउँपालिकालाई हस्तान्तरण हुने जनाइएको छ । २०७९/०८० का लागि विनियोजित गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ‘स्याउ विशेष कार्यक्रम अन्तर्गत मुस्ताङको घरपझोङ २ मार्फा र थासाङ १ टुकुचेमा सय/सय टनका २ कोल्ड स्टोर निर्माणको कामअघि बढाएको छ ।
निर्देशनालयको स्याउ विशेष कार्यक्रम अन्तर्गत मुस्ताङको मार्फा स्थित मार्फा कृषि सहकारी संस्था र टुकुचेको स्यालम बहुउद्देश्यीय सहकारीलाई ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी कोल्ड स्टोर निर्माण भइरहेको कृषि विकास निर्देशनालय पोखराका निर्देशक वासुदेव रेग्मीले जानकारी दिए । १ कोल्ड स्टोरका लागि चाहिने सबै पूर्वाधार बनाउन अधिकतम १ करोड २५ लाख अनुदान दिइने उनले सुनाए ।
अनुदान प्राप्त संस्थाले त्यसभन्दा कम लागतमा पूर्वाधार निर्माण गरेमा लागत अनुसार तोकिएको अधिकतम लागत अनुदान घटेर ८५ प्रतिशत पाउने कृषि विकास निर्देशक रेग्मीको भनाइ छ । यसको क्षमता १ सय टनसम्म हुनेछ । यो कोल्ड स्टोर निर्माण भएमा घरभपझोङ र थासाङका स्याउ किसान लाभान्वित हुने छन् ।
निर्देशनालयले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट ठूलो क्षमताका २ कोल्ड स्टोरका अलावा थप ५ स्याउ भण्डारण गर्ने कोल्ड रुम (चिस्यान कक्ष) निर्माणको कामसमेत अघि बढाएको कृषि विकास निर्देशक रेग्मीले सुनाए ।
१० देखि १५ टन क्षमताका कोल्ड रुम निर्माण गर्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र २ को अम्बे अर्गानिक कृषि फार्म, घरपझोङ ५ को मुस्ताङ हिमालयन एग्रो प्रालि, घरपझोङ ५ ठिनीको मुस्ताङ भ्याली अर्गानिक एग्रिकल्चर प्रालि, घरपझोङ २ मार्फाको मार्फा मितेरी कृषि सहकारी संस्था र वारागुङ मुक्तिक्षेत्रको मुक्तिक्षेत्र २ को मुक्तिक्षेत्र दोधाङ कृषक समूहले अनुदान पाउने छन् ।
उनीहरूले ८५ प्रतिशत अनुदान पाएका छन् ।
स्याउ विशेष कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोगले कृषकलाई स्याउको बजारीकरण गर्न बर्सेनि कृषि विकास निर्देशनालयलाई सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्ष निर्माण हुने १० देखि १५ टन क्षमताको कोल्ड रुमका लागि १० लाखसम्म अनुदान सहुलियत दिइनेछ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ स्याउ जोनले मुस्ताङमा १० टन क्षमताको २ कोल्ड रुम बनाइरहेको छ । मुस्ताङमा स्याउ विशेष कार्यक्रम २०७६/०७७ देखि कार्यान्वयनमा आएको हो ।
हालसम्म १ निजीसहित ७ वटा कोल्ड रुम निर्माण भई सञ्चालनमा आएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाशत बस्ताकोटीले जानकारी दिए । मुस्ताङमा बेर्सेनि स्याउ पाक्ने सिजनमा ठेकेदारले किसानका सबै स्याउ बजार पुर्याउँदा बेमौसममा यहाँ स्याउ पाइँदैन । पछिल्लो समय संघीय र प्रदेश सरकारले कोल्ड स्टोर निर्माणमा पर्याप्त अनुदान दिन थालेपछि कोल्ड स्टोरको संख्या बढेको हो । कोल्ड स्टोर धमाधम निर्माण हुन थालेपछि अब मुस्ताङमा बेमौसममा पनि स्याउ पाइने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया