झोला बोकेर स्वास्थ्यकर्मी घरदैलोमा

समाधान संवाददाता २०८० असार २७ गते ११:१७

पोखरा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम गरेको छ । गाउँपालिकाले इजरायली प्रविधिको ‘ल्याब इन–ए–ब्याग’ कार्यक्रममार्फत घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र सल्लाह दिने कार्यक्रमको सुरुआत गरेको हो ।

Advertisement


उक्त प्रविधिले घरघरमा पुगी पल्स रेट, इसिजी, श्वासप्रश्वास दर, सुगरको मात्रा, युरिया क्रेटिनाइन, अक्सिजन सेचुरेसन लगायत २७ प्रकारका परीक्षण गरी उतिबेलै नतिजा उपलब्ध गराउने गर्दछ । उक्त प्रविधि सुरुआत गर्ने कालीगण्डकी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो । यसअघि काठमाडौं महानगरपालिकाले सो प्रविधिको प्रयोग गरेको थियो ।


उक्त प्रविधिमार्फत मोबाइल एपमार्फत घरमै बसेर स्वास्थ्य सेवा लिन सकिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । पहिलो चरणमा २ जना स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर सेवाको सुरुआत गरिएको अध्यक्ष थापाले बताए । ‘२ स्वास्थ्यकर्मीलाई दुवटा उपकरण छन्, छिट्टै नै ५ वटा खरिद गरेर प्रत्येक वडामा स्वास्थ्य परीक्षण सेवालाई विस्तार गर्छौं,’ थापाले भने ।


उक्त प्रविधिमार्फत गाउँपालिकामा एक वर्षमा १२ हजार जनताको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको अध्यक्षले सुनाए । ‘भर्खर सुरु गरेका छौं, प्रत्येक वडामा सुरु गरेका छौं, एक वर्षमा १० देखि १२ हजार जनताको परीक्षण गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।


स्वास्थ्यकर्मी घरघरमै पुगी नागरिकको स्वास्थ्य जाँच र तत्काल ल्याब रिपोर्ट दिने कार्यबाट नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिएका अध्यक्ष थापाले बताए । गाउँका बासिन्दाले अहिलेसम्म औषधी सेवन नै नगरेको र केही नभएको भन्दै कुनै स्वास्थ्य परीक्षण नहुँदा दिनानुदिन रोगीको संख्या बढेको उनको भनाइ छ ।

Advertisement


रोग नलुकाऊन् र रोगको पहिचान गर्न सहज होस् भनेर उक्त सेवाको सुरुआत गरिएको अध्यक्ष थापाले सुनाए । ‘हरेक नागरिककको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणको सेवा सुरु गरेका छौं, यसलाई थप विस्तार गर्दै लैजानेछौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया