महानगर स्वास्थ्य महाशाखा प्रमुखको दादागिरी
फालिदिए कम्प्युटर, कर्मचारीको ‘हात–खुट्टा’ भाँच्दिने धम्की !

पोखरा ।
आफूले गैरकानुनी ढंगले नियुक्ति दिएका कर्मचारीलाई लेखा अधिकृतले तलब भुक्तानी नदिएपछि पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले दादागिरी मच्चाएका छन् । महाशाखा प्रमुख अर्यालकै छोरा सन्देशसहित गैरकानुनी नियुक्ति पाएका डाक्टर, ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी गरेर ८ जनाले तलब नपाएका हुन् ।
कानुनविपरीतको नियुक्ति भएपछि गत फागुनदेखि उनीहरुको तलब लेखा शाखाले रोकिदिएको छ । त्यसैको रिस प्रमुख अर्यालले मंगलबार लेखा अधिकृत श्याम पराजुलीले प्रयोग गर्ने कम्प्युटर फालेर, हात खुट्टा भाँचिदिने धम्की दिएर कार्यालयमै पोखेको महाशाखाका एक कर्मचारीले बताए । ‘हाकिम सा’बले डेस्कटप फाल्दिनुभयो । त्यसपछि त्यहाँ हात–खुट्टा भाँचिदिने कुरा पनि आयो,’ एक कर्मचारीले भने, ‘महाशाखाबाट निस्केर जानसम्म भन्ने कुरा भयो ।’
गैरकानुनी नियुक्ति भएका करार र ज्यालादारीका कर्मचारीको गरेर करिब ५ लाख रुपैयाँ भुक्तानी रोकिएको महाशाखाका कर्मचारी बताउँछन् । लेखा शाखाले महानगर कार्यपालिकाको निर्णय नभएको र तोकको आधारमा नियुक्ति भएकालाई संघ र प्रदेश सरकारको कानुनले तलब भुक्तानी गर्न नमिल्ने भन्दै तलब दिन मानेको छैन ।
आफू फस्न सक्ने र पछि महालेखाको प्रतिवेदनले बेरुजु देखाउने भएकाले लेखा शाखाले रकम निकासा दिएको छैन । यही विषयमा विवाद हुँदा महाशाखा प्रमुख अर्याल मंगलबार आक्रोशित बनेर दादागिरी मच्चाएका हुन् । लेखा प्रमुख पराजुली आफ्नै कार्यकक्षमा बसिरहेका बेला दिउँसो एक्कासि महाशाखा प्रमुख अर्यालले डेक्स्टप भुइँमा फालिदएका थिए ।
अधिकृत पराजुलीले घटनाको छानबिन गरेर कारबाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई मंगलबार नै निवेदन दिएका छन् । अभद्र व्यवहार भएको, तनावपूर्ण वातावरण सिर्जना भएकाले महाशाखा प्रमुखलाई कारबाही माग गर्दै आफूले निवेदन दिएको लेखा अधिकृत पराजुलीले बताएका छन् । उनले आन्तरिक विषय भएकाले यसबारे थप नबोल्ने बताए । घटनाबारे बुझ्न पटकपटक फोन गर्दा, म्यासेज गर्दा महाशाखा प्रमुख अर्याल सम्पर्कमा आउन चाहेनन् ।
हाकिमसँग कर्मचारीको डर
आफूभन्दा उपल्लो तहको कर्मचारीसँग तल्लो तहका कर्मचारी काम नगरेमा डराउनुपर्ने हो । तर, महानगरको स्वास्थ्य महाशाखामा गैरकानुनी नियुक्ति खाएकाको तलब दिन मिल्दैन भनेको भरमै तनावपूर्ण स्थिति बनेपछि कर्मचारी तर्सिएका छन् ।
‘अब यो कार्यालयमा बक्सिङ सिकेकाहरु आउनुपर्ने भयो,’ मंगलबार एक जना कर्मचारी ठट्टा गर्दै थिए ।
महाशाखा प्रमुख अर्यालसँग कर्मचारीहरु निकै असन्तुष्ट छन् । परिवारकै सदस्य भर्ना गर्ने, कर्मचारीलाई धाकधम्की देखाउने, कर्मचारीले तलब नपाउँदा पनि केही नगरेकोमा उनीसँग कर्मचारीको असन्तुष्टि छ ।
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखले पदको शक्ति प्रयोग गरेर छोरालाई जागिर खुवाउन करारमा एउटा पद नै सिर्जना गरेका थिए । महानगरपालिकाले गत वैशाख ११ गते १४ पदमा ४७ जना भर्ना गर्न सूचना निकालेकोमा एक जना पाँचौँ तहको कम्प्युटर अपरेटर मागेको थियो ।
त्यसमा पूर्वयोजना अनुसार नै स्वास्थ्य महाशाखा प्रमुख अर्यालका छोराले आवेदन दिएका थिए । गैरकानुनी भर्ना गर्न लागिएको विषय सार्वजनिक भएपछि त्यो विज्ञापनमा आएका आवेदनबारे के गर्ने अझै अन्यौल छ । महानगरका कर्मचारीले बताएअनुसार आर्थिक वर्ष सकिएपछि त्यो विज्ञापन स्वतः खारेज हुन्छ र आवेदन दिएकालाई पैसा फिर्ता दिनुपर्छ ।
अर्यालका छोरा सन्देश हाल स्वास्थ्य महाशाखाकै राजस्व संकलन फाँटमा कार्यरत छन् । उनलाई करारमा नियुक्त गर्न अनुकूल योग्यता राखेर, एक जनामात्रै माग गरेर महाशाखा प्रमुखले नीतिगत बठ्याइँ गरेका हुन् । कम्प्युटर अपरेटरमा दरखास्त दिन प्रमाणपत्र तह उत्तीर्ण गरेको र कम्प्युटरमा डिप्लोमा गरेको हुनुपर्ने योग्यता छ ।
महाशाखाको राजस्व संकलनमा काम गरिरहेका कर्मचारीलाई शिशुवा अस्पताल सरुवा गराएर महाशाखा प्रमुखले आफ्नो छोरालाई ज्यालादारीमा राखेका थिए । त्यसपछि त्यहाँ पद खाली भएको प्रमुख प्रशासकीय अधिकृतलाई देखाएर छोरालाई नै योग्यता मिल्ने गरी यो पदमा विज्ञापन खोलिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र गण्डकी सरकारले बनाएको स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ अनुसार करारमा कर्मचारी भर्ना गर्न मिल्दैन । उपल्लो सरकारले बनाएको कानुनअनुसार करारमा कर्मचारी भर्ना गर्नै नपाइने भएपछि धनराज आचार्य मेयर भएर आएको एक महिनापछि गत असार २४ गते महानगरपालिकाले सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ स्थानीय राजपत्रमा प्रकाशन गरेको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले ज्यालादारीमा काम गरिरहेका स्वास्थ्य महाशाखा प्रमुखका छोरालाई काम नगराउन जेठ २ गते नै निर्देशन दिएका थिए । निर्देशन अटेर गर्दै उनले आफ्ना छोरालाई अझै हटाएका छैनन् ।
तपाईको प्रतिक्रिया