तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर संकलन

मनाङ ।
अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर संकलन गरिएको हो ।
तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहोर संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड–१९ को संक्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहोरमैलाको हुने क्रम बढेको उनको भनाइ छ ।
‘विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहोरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ,’ गौतमले भने, ‘ताल जाने बाटोमा विभिन्न स्थानमा डम्पिङ साइट बनाइएको छ, तर फोहोरमैला भने यत्रतत्र फालिएको पाइयो ।’ पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उनले बताए । ती जथाभावी फालिएका फोहोरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उनले सुनाए ।
तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिए । उनका अनुसार उक्त मार्गअन्तर्गत नकुहिने फोहोरमैला मात्रा बढेकोले सरसफाई तथा व्यवस्थापन गरिएको हो । ‘यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहोर पनि बढेको छ, यहाँको फोहोरमैला संकलन गरी व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने । विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रलाई सधैँ स्वच्छ र सफा राख्नु आवश्यक रहेको अध्यक्ष टसीले बताए ।
तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत अन्नपूर्ण पदमार्गमा पानी तथा कोकाकोलाका बोतल, चाउचाउ र बिस्कुटका खोल ठूलो मात्रामा भेटिएको थियो । गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको किनारमा सरसफाई गरिएको छ ।
पछिल्लो समय विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको छ ।
प्राकृतिक छटाले भरिएको तिलिचो ताल हिमशृंखला र निलगिरी हिमालको हिमनदीबाट निर्माण भएको हो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया