न्हेचुङ भन्सार भवनको स्तरोन्नति

सुन्दरकुमार थकाली २०८० असार २७ गते १२:४३
चिनसंग सीमाना जोडिएको उत्तरी कोरलानाका स्थित लोमान्थाङ—२ को न्हेचुङमा रहेका भन्सार कार्यालयको जीण भवन स्तरोन्नति गरिदैं । तस्विर: सुन्दरकुमार थकाली

जोमसोम ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको कोरला नाका नजिकै पर्ने उपल्लो मुस्ताङको न्हेचुङस्थित मुस्ताङ कार्यालयको जीर्ण ३ कोठे भवन स्तरोन्नति गरिएको छ । भवन स्तरोन्नतिका लागि चालु आवमा भन्सार विभागले ३५ लाख बजेट विनियोजन गरेसँगै न्हेचुङको जीर्ण भन्सार कार्यालय स्तरोन्नति गरिएको हो ।


मुस्ताङमा तिब्बती खम्पा विद्रोहीहरु विस्थापित भएलगत्तै उपल्लो मुस्ताङको न्हेचुङमा मुस्ताङ भन्सार कार्यालय स्थापना भएको बताइएको छ । उपल्लो मुस्ताङको छोसेरस्थित न्हेचुङमा १०९ रोपनी जग्गा भन्सारको नाममा लालपुर्जा छ । सोही जग्गाको दक्षिणतर्फ एक तले जस्ताले छाइएको क्वारेन्टाइन भवन छ । उत्तरतर्फ ढुंगा र माटोले बनेको दुइटा भौतिक संरचना छ । जसमध्ये एक ठाउँको ३ कोठे मुस्ताङ भन्सार कार्यालयलाई स्तरोन्नति गर्दै जस्ताले छाएर बस्न र कार्यालय सञ्चालन गर्न योग्य बनाइएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख डालेश्वर अर्यालले जानकारी दिए ।

Advertisement


अर्को एक तले ढुंगा र माटोले बनेको भवन भत्काएर कम्पाउन्ड बनाइने भन्सार प्रमुख अर्यालले उल्लेख गरे । ‘अहिले एक ठाउँको जीर्ण भवन स्तरोन्नति ग¥यौं, अर्को स्थानको भवनमा प्रहरी बसेका छन्,’ उनले भने, ‘प्रहरीको पनि न्हेचुङमा जग्गा छ, उनीहरुको भवन बन्यो भने प्रहरी उतै बस्छन्, त्यो ठाउँलाई कमाउन्ड बनाउने योजना छ ।’ न्हेचुङमा स्तरोन्नति गरिएको भवनमा पनि प्रहरी बस्ने गरेको उनले जानकारी दिए ।


न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको जग्गामा एकतले क्वारेन्टाइन भवन छ । सो क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का जवान बस्दै आइरहेका छन् । सन् २०२० को जनवरीमा सरकारले बिओपी स्थापना गरेको थियो । त्यहाँ सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्वमा २५ जना सशस्त्र प्रहरी बस्दै आइरहेका छन् । न्हेचुङमै सशस्त्र प्रहरीको बिओपी भवन निर्माण अन्तिम चरणमा छ । सशस्त्रको बिओपी भवन बनेपछि उनीहरु आफ्नै भवनमा सर्ने भन्सार प्रमुख अर्यालले जनाए । न्हेचुङको भन्सार कार्यालयको कम्पाउन्डलाई बलियो र थप स्तरोन्नति गर्न फलामे तारबार राख्ने काम भइरहेको छ ।

Advertisement


तत्कालीन सरकारले उपल्लो मुस्ताङको न्हेचुङमा उपल्लो मुस्ताङबासीको सहजताका लागि अल्पकालीन भन्सार कार्यालय स्थापना गरेको थियो । ग्रीन जोन मापदण्डको मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा उपल्लो मुस्ताङीका लागि चीनबाट आयात गरिने दैनिक अतिआवश्यकीय सामग्री ल्याउन आधार तयार गरिएको थियो । उत्तरी कोरला नाकाबाट बर्सेनि संञ्चालन हुने अल्पकालीन व्यापार मेलाबाट सामान्य खालका चिनिया सामग्री ल्याउन पाउने व्यवस्था मिलाएको थियो । बर्सेनि सञ्चालन हुने अल्पकालीन व्यापार मेला पनि विगत ३ वर्षदेखि बन्द छ ।


नेपाल सरकार भन्सार विभागले मुस्ताङको उत्तरी कोरलानाकालाई उच्च प्राथमिकतामा राखेको मुस्ताङ भन्सार प्रमुख अर्यालले बताए । विभागले मुस्ताङ भन्सार कार्यालयको पूर्वाधार स्तरोन्नति तथा भन्सारको नाममा रहेको जग्गाको संरक्षण गर्नेतर्फ चाँसो दिन थालेको उनले बताए ।


भन्सारको कोरलानाकामा पनि १ हजार रोपनी जग्गा प्राप्ति भइसकेको र न्हेचुङमा पनि पर्याप्त जग्गा रहेकाले दीर्घकालीन भन्सार लगायतका संरचना निर्माणमा कुनै अप्ठेरो नपर्ने बताए । सरकारले कोरलानाकामा दीर्घ कालिन भन्सार लगायत संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको मुस्ताङ भन्सार प्रमुख अर्यालको भनाइ छ ।

उत्तर÷दक्षिण जोड्ने कोरला सडकमार्ग निर्माणधिन रहेको र कोरला डिपिआर बन्ने तयारीमा रहेकाले भविष्यमा मुस्ताङ भन्सार कार्यालय गतिशील हुने उनले सुनाए ।


भन्सार विभागले चालु आर्थिक वर्ष नै मुस्ताङ भन्सार कार्यालयको नाममा रहेको जोमसोमको ७ रोपनी जग्गाको संरक्षणका लागि कम्पाउन्ड वाल लगाउने काम सम्पन्न भइसकेको मुस्ताङ भन्सार प्रमुख अर्यालले बताए । जोमसोममा रहेको जग्गा संरक्षण गर्न विभागले ७० लाख बजेट विनियोजन गरेपछि कम्पाउन्ड वाल लगाउने कार्य भएको उनले बताए ।


मुस्ताङ भन्सार कार्यालयमा एक जना शाखा अधिकृतसहित ८ जना कर्मचारीको दरबन्दी छ । भन्सारमा शाखा अधिकृत नभएकाले कार्यालय प्रमुखको अख्तियारी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई विभागले जिम्मेवारी दिएको हो ।

अहिले मुस्ताङ भन्सार कार्यालयमा उनीसहित ५ जना कर्मचारी छन् । भन्सारको कामकाज नभएकाले न्हेचुङमा एक जना कार्यालय सहयोगबाहेक अन्य कर्मचारी जोमसोम बस्ने गरेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया