दमौलीका ७ वटा आयुर्वेद पसल सिल

समाधान संवाददाता २०८० असार २७ गते १४:३३

दमौली ।

तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेका आयुर्वेद पसलहरुमा मंगलबार अनुगमन गरेको छ । अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका ७ वटा पसललाई सिल गरेको छ । अनुगमनको क्रममा व्यास २ स्थित रहेको रुक्सल आयुर्वेद फर्माले स्थानीय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरि बिरामी परीक्षण गर्ने गरेको पाइएको थियो ।


प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले आरोग्य फार्मेसीले स्थानीय तहमा दर्ता नगरेको, एलोपेथी र होमियोपेथी औषधी दुबै बिक्री गरेको, औषधी खुला रूपमा भेटिएको जानकारी दिए । ती पसल पनि नगरपालिकाको अनुगमन टोलीले सिल गरेको छ ।

Advertisement


व्यास २ गणेशमान चोकस्थित रहेको अनमोन आयुर्वेद स्वास्थ्य क्लिनिकले नवीकरण नगरेको, क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथी औषधी बिक्री गर्ने गरेको पाइएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार उक्त क्लिनिकलाई सिल गरी फार्मेसी मात्र सञ्चालन गर्न दिइएको छ । एक सातामा पसल नवीकरण गर्न निर्देशन दिइएको छ ।


व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकोमा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको, ल्याब र क्लिनिक सञ्चालन दर्ता नभएको पाइएको छ । उक्त ल्याब र ओपिडीलाई पनि सिल गरिएको छ । आयुष होमियो फर्मामा होमियोपेथी पसल दर्ता नै नभएको, म्याद सकिएको औषधी फेला परेको, औषधी पसल दर्ता गरी क्लिनिकको रूपमा सञ्चालन गरेको पाइएको छ । उक्त पसल पनि सिल गरिएको छ ।

Advertisement


व्यास २ सत्यवती माध्यमिक विद्यालय अगाडि रहेको स्पार्क दमौली अस्पताल स्थानीय तहमा दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको छ । उक्त अस्पताल पनि सिल गरिएको छ । प्रकाश आयुर्वेदिकमा आयुर्वेदिक पसलमा दर्ता गरी एलोपेथी औषधी बिक्री गर्ने गरेको, औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनाधिकृत व्यक्तिले बिरामी परीक्षण गरेको भेटिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् ।

उनको अनुसार उक्त पसलबाट एलोपेथी औषधी बरामद गरी सिल गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रैको संयोजत्वमा गरिएको अनुगमनमा जिल्ला आयुर्वेद कार्यालयका आयुर्वेद चिकित्सक रामप्रमोद मण्डल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया