पोखरा १३ ले सुरु गर्‍याे निशुल्क एम्बुलेन्स सेवा

समाधान संवाददाता २०८० असार २८ गते १७:११

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडामा बिहीबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु भएको हो । वडाका सबै बिरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने वडाध्यक्ष किरण बरालले बताए ।

Advertisement


‘आज पनि सामान्य बिरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खबर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खबर सुनाउन पाउँदा खुसी लागेको छ ।’

एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख खर्च हुने अनुमान


यसअघि पनि उनले छात्रवृत्तिदेखि ज्येष्ठ नगारिक र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याएका थिए । एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक ४ देखि ५ लाख खर्च गर्ने बरालले सुनाए । ‘एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उनले भने, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौं ।’ एम्बुलेन्स सेवाका लागि विरामी वा आफन्तले खवर गर्नुपर्छ ।


वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफू लागेको बरालले सुनाए । ‘वडाकै स्वास्थ्य संस्थालाई पनि कामयावी बनाउने योजना छ । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधी र डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘तैपनि सकेजति सुधार गर्दैछौं । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा निशुल्क एम्बुलेन्समा पठाउछौं ।’ महानगरभित्र तुलनात्मक रुपमा विकट वडा भएकोले त्यहाँका नागरिकहरु बिरामी हुँदा एम्बुलेन्स वा निजी गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यतामा छन् ।

Advertisement


बरालले आफ्नो काममा टिप्पणी गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफुले प्रतिबद्धता जनाए अनुसार काम भए नभएको टिप्पणी गरिदिन आग्रह गरेका हुन् । ‘मैले सधैं आफूलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ ?,’ उनले भने, ‘सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । गलत भएको ठाउँमा खवरदारी गरिदिनुहोला ।’ बरालले केही समयअघि आफू निर्वाचित भएको १ वर्षभित्र गरेका कामहरुबारे सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया