उपल्लो मुस्ताङमा हेलि समन्वय गर्दै जान्छ बिरामीको ज्यान

जोमसोम—उपल्लो मुस्ताङमा जाने पर्यटक तथा स्थानीय गम्भिर बिरामी हुँदा वा घाईते हुँदाको अवस्थामा हेलिकोप्टर समन्वय गर्दै बिरामीले अकालमा ज्यान गुमाउन बाध्य रहेको एक कार्यक्रममा उल्लेख गरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति अन्तर्गत जिल्ला प्रशासन कार्यालय मुस्ताङले आयोजना गरेको बहुसरोकारवाला निकाय सम्मिलित विपद् व्यवस्थापन समितिको बैठकमा सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारी अनुप केसीको ध्यानार्कषण गराएका हुन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै बैठकमा उपस्थित लोमान्थाङ—५ का वडासदस्य छेवाङ रिन्जिङ गुरुङले उपल्लो मुस्ताङमा कुनै आपत्कालीन विपद् उद्दारको सेवा लिदा हेलिकोप्टर मगाउँने प्रक्रिया झन्झिटिलो भएको बताएका छन् । उनले उपल्लो मुस्ताङको विपद् उद्दारका लागि गृह मन्त्रालयबाट नभई सिधै स्थानीय प्रशासनले अनुमती दिन पाउँने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरे । हेलि उद्दारका लागि प्रक्रिया लामो भएकाले समयमै बिरामीको उद्दार नहुँदा पर्यटक तथा स्थानीय नागरिकले अकालमा ज्यान गुमाउन पर्ने अवस्था रहेको उनले सुनाए ।
उपल्लो मुस्ताङ राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ । सरकारले उपल्लो मुस्ताङको हेलि उडानका लागि स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले अनुमती दिने व्यवस्था छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीदेखि माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रुपमा लिएको छ । उपल्लो मुस्ताङ जान विदेशी पर्यटकले सरकारलाई ५ डलर रोयल्टी बुझाएपछि मात्र १० दिनका लागि प्रबेश अनुमती दिने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया