पोखराका घाँस किसानलाई अनुदान

समाधान संवाददाता २०८० असार २९ गते ११:११

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २७ का कृष्णहादुर चोचांगी बिहीबार प्रफुल्ल भेटिए । ३० रोपनी जग्गामा सघन प्रजातिको घाँस लगाएका उनले महानगरबाट ७८ हजार ४ सय रुपैयाँ पाए ।


जलजला कृषि मल्टी एग्रो फर्म सञ्चालन गरी उनले ३ वर्षदेखि घाँस खेती गर्दै भएका छन् । उनले ४० रोपनीमा खेती गरे पनि ३० रोपनीका लागि अनुदान पाएका हुन् । चोचांगी भन्छन्, ‘यो चोखो अनुदान हो । घाँस फार्मका लागि भयो, पैसा पनि भयो ।’ उनले अघिल्लो वर्ष १२ रोपनीमा लगाएर २७ हजार पाएको तर अहिले ३० रोपनीमा घाँस खेती गरेको सुनाए ।


चोचांगी जस्तै सघन घाँस खेती गर्ने पोखरा महानगरभित्रका ७० किसानले महानगरबाट अनुदान पाएका छन् । ७० किसानलाई महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदास, पोखरा २६ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, कार्यपालिका सदस्य निर्मला पौडल र महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ९ लाख रुपैयाँ अनुदान वितरण गरे ।

Advertisement


महानगर पशु सेवा शाखाका अनुसार ३ रोपनी क्षेत्रफलभन्दा माथि सघन घाँस उत्पादन गर्ने किसानले प्रतिरोपनी २ हजार ६ सय हजारका दरले अनुदान पाएका छन् । महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन् । उनले पोखरा पर्यटकीय क्षेत्र भए पनि कृषिमा पनि उत्तिकै सम्भावना रहेको सुनाइन् । ‘यहाँको कृषि क्षेत्रलाई सुधार्न घाँस र बिउसँगसँगै उत्पादन गर्नुपर्दछ,’ उनले भनिन् ।


उपप्रमुख गुरुङले पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको जानकारी दिइन् । उनले रकम थोरै भए पनि किसानलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको बताइन् ।

Advertisement


पोखरा २७ का अध्यक्ष पूर्णबहादुर गुरुङले अझै पनि किसानको मुहारमा चमक ल्याउन नसकेको जनाए । कार्यपालिका सदस्य निर्मला पौडेलले कृषकलाई उत्साहित भएर खेती गर्न आग्रह गर्दै बिरामी भैसी र गाईको दूध बिक्री वितरण नगर्न सुझाइन् ।


पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले कृषि उत्पादन बढाउन किसानकै मागका आधारमा महानगरले अनुदान कार्यक्रम ल्याएको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की प्रमुख शम्भुराज पाण्डेले घाँसमा अनुदान कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया