सम्पादकीयः लम्पी स्किन नियन्त्रण गर

पशु चौपायामा लाग्ने संक्रामक तथा भाइरल लम्पी छाला रोग देशभरी माहामारीको रुपमा फैलिएको छ । अत्यधिक संक्रामक रोग तिब्र गतिमा फैलिदा पनि सरकारले उपचारको लागि ठोस योजना बनाउन सकेको छैन । कृषि तथा पशुपन्छी विभागका अनुसार गत चैत महिना अगाडी कोशी प्रदेशबाट फैलिएको रोगबाट ७ लाख ६४ हजार ६सय ३८ गाई भैसी संक्रमित भएका छन् । ४ लाख ९३ हजार ४सय ३९ निको भएका छन् । अझैपनि २ लाख ४४ हजार २ सय ५८ पशु चौपाया रोगबाट संक्रमित छन् । करिब २७ हजार पुशचौपाया मरेका छन् । साढे ३७ अर्ब बराबरको क्षति भएको छ ।
पशु चौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, आँखामा कचेरा लाग्ने, आँखा र नाकबाट अत्याधिक तरल पदार्थ निस्कने, नाक, मुख र नाकमा घाउहरू देखिन्छ ।
लामखुट्टे र किराको सक्रियता बढेका कारण गर्मी मौसममा रोगको प्रभाव बढ्छ । रोगको फैलावटलाई नियन्त्रण गर्न, किसानहरूलाई सफा गोदामहरू राख्न, गाईवस्तु र चरन ठाउँहरूको व्यवस्थापन गर्न र पिसाब, कीरा र लामखुट्टे विरुद्ध उपायहरू अपनाउन आवश्यक छ । झिंगा र लामखुट्टेको टोकाइ, दूषित पानीको स्रोत, चरनको ठाउँ र जनावरको सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्कता बढाउनुपर्छ ।
लम्पी छाला रोग एक भाइरल रोग हो जसको अहिलेसम्म कुनै विशेष उपचार छैन सो रोगको खास उपचार नभए पनि ज्वरो कम गर्ने र सामान्य खोप लगाउनेदेखि साधारण औषधीको प्रयोग गरिन्छ । रोगको संक्रमण फैलिएपनि नेपालमा सो रोग विरुद्धको खोपको अभाव छ । खोपको माध्यमबाट रोगको रोकथाम तथा महामारीलाई नियन्त्रण गर्ने एक मात्र तरिका हो । नेपाल सरकारले खोपको अभाव हुन नदिन प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नु पर्छ ।
पशुमा महामारीका रूपमा फैलिरहेको रोग नियन्त्रणका लागि नेपाल सरकारले सात वटै प्रदेशमा अध्ययन गर्न टोली पठाइसकेको छ । रोग नियन्त्रणका लागि औषधी खरिद गर्नका लागि १० करोड रुपियाँ पनि छुट्टाएको छ । जुन देशभरी पशु महामारीको रुपमा फैलिएको रोग नियन्त्रण गर्न प्रयाप्त छैन । सरकारले रोग नियन्त्रणको लागि बजेट बढाउनुका साथै रोगबाट प्रभावित क्षेत्रमा रोग नियन्त्रणको लागि प्राविधिक परिचालन गर्नु आवश्यक छ ।
नेपाल सरकारले रोग लागेका, निको भएका तथा मरेका पशु चौपायाको वास्तविक लगत तयार गर्नु पर्छ । तीन तहको सरकार एक आपसमा समन्वय गरेर रोग नियन्त्रणको लागि काम गर्नु पर्छ । सरकार पशुचौपायाको क्षतिका अध्ययन गरी किसानलाई क्षतिपुर्ती दिन तथा रोग नियन्त्रणमा उदासिन बन्न हुँदैन ।
तपाईको प्रतिक्रिया