खहरेखोल्सामा झोलुंगे पुल

समाधान संवाददाता २०८० साउन १ गते ११:३८

कास्की ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा निर्माण गरिएको झोलुंगे पुलले स्थानीयको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुंगे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ ।


पुल नहुँदा २ गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले १ मिनेटमै वारपार गर्न सकिन्छ । पुलले घाचोकका १ सय ९१ घरधुरीसहित ९ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुंगे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताए ।


उनले भीरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिएकामा पुल निर्माणसँगै स्थानीय वासीको दैनिकी सहज भएको उल्लेख गरे । भुजेलले भने, ‘वारपार गर्न खहरेखोलामा अप्ठ्यारो बाटो झरेर आउने जाने गर्नुपथ्र्यो । समय धेरै लाथ्यो । अब भने मेलापात र घाँस दाउरा गर्न, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्यचौकीसम्म पुग्न सहज भएको छ । पुलका वारिपारि दुवैतिरका नागरिक लाभान्वित भएका छन् ।’

Advertisement


नेपाल सरकार झोलुंगेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक/प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु/पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी ३६ लाख ५८ हजार ७ सय १० लागतमा पुल निर्माण गरिएको हो ।


पुल निर्माणका लागि झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको २३ लाख २५ हजार ९ सय २०, टिबिएसयुको ७ लाख ८६ हजार ७ सय ७६, गाउँपालिकाको ४ लाख ७० हजार १ सय ७३, जनश्रमदान ७५ हजार ८ सय ४० लगानी भएको छ ।

Advertisement


पुल निर्माणका लागि विसं २०७७ माघ २७ गते सम्झौता भएर विसं २०८० असार १६ गते निर्माण भएको हो । झोलुंगे पुल शनिबार गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सुरुआत गरे । उलने विकट गाउँलाई सहज बनाउनका लागि सम्भव हुने स्थानमा पुल निर्माण गर्ने पालिकाको योजना रहेको बताए ।


पुल बनाउनका लागि निःशुल्क जग्गादान गर्ने दलबहादुर भुजेल (बायाँ किनारा) र भीमकुमारी लम्साल/जगतबहादुर शाही (दायाँ किनारा) लाई सम्मान गरिएको छ । पछिल्लो समय नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट जिल्लाका दुर्गम तथा विकट बस्तीमा धमाधम पुल निर्माण भइरहेका छन् ।

तपाईको प्रतिक्रिया