विमानस्थल चलेको ७ महिनापछि इन्धन डिपो निर्माण सुरु

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे ७ महिनापछि हवाई इन्धन डिपो निर्माण सुरु भएको छ । गत पुस १७ बाट सञ्चालनमा आएको यो विमानस्थलमा सोमबारदेखि डिपो निर्माण थालिएको हो ।
विमानस्थल परिसरभित्र सोमबार हवाई इन्धन डिपो निर्माणको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरे । ३ हजार ६ सय किलोलिटर अर्थात् ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरु निर्माण गरिने योजना रहेको नेपाल आयल निगमले जनाएको छ । जसमा १ हजार २ सय किलोलिटर अर्थात १२ लाख लिटरका ३ वटा ट्यांकी रहने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए ।
इन्धन डिपो निर्माणमा ७७ करोड लगानी हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । डिपो निर्माणका लागि भारतीय कम्पनी बिएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । काम सुरु भएको १ वर्षमा डिपो निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।
डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरण क्यानसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो । हाल पुरानो विमानस्थलमा रहेको हवाई इन्धन डिपोबाट इन्धन प्रयोग गरिएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । ‘विमानस्थलमा डिपो निर्माणका लागि सम्झौता भएको छ, सोमबारबाटै काम सुरु भएको छ, अहिले पुरानो विमानस्थलमा रहेको डिपो प्रयोग गर्दै आएका छौं,’ उनले भने ।
हाल विमानस्थलमा दैनिक २० देखि २५ हजार लिटर हवाई इन्धन खपत हुने गरेको विमानस्थलका प्रमुख गौतमले सुनाए । ‘अहिले विमानस्थलमा दैनिक २० देखि २५ हजार लिटर हवाई इन्धन खपत हुने गरेको छ । नयाँ डिपो भएपछि इन्धन धुवानीमा पनि सहज हुने अपेक्षा गरेका छौं,’ उनले भने ।
यो अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । गत असार ६ गते पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट फेवातालमा असार ८ र ९ गते आयोजना हुन लागेको ‘ड्रागन बोटरेस फेस्टिभल’मा सहभागी हुने चिनिया खेलाडी र केही नेपाली उत्रिएका थिए । चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोही विमानबाट पोखरा अवतरण गरेका थिए । त्यसयता भने विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्ड अनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्छन् । ३ हजार ९ सय रोपनीमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडा धावनमार्ग छ । एटीसी टावर, सात वटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ । २२ अर्ब चिनियाँ ऋणमा यो विमानस्थल बनेको हो ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया