
जोमसोम ।
लोमान्थाङ—कोरला नाका जोड्ने ४ मोटरे बल पुलको काम अहिले धमाधम भइरहेको छ । करिडोर अन्तर्गत जोमसोम—कोरला खण्डको लोमान्थाङदेखि कोरला जोड्ने पुलहरुको कामले गति लिएको (बेनी—जोमसोम—कोरला)सडक आयोजनाले जनाएको छ ।
कोरला सडक अन्तर्गत लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलामा ४ पुल बनिरहेका छन् । २०७६ असार ३१ गते सम्झौता भएको लोमान्थाङ—कोरला सडकको ठेक्का एउटै समयमा एकै निर्माण कम्पनीलाई परेको थियो । सम्झौता अवधि २०८० असोज ३० गतेसम्म रहेका यी ४ पुल निर्माण गर्न आयोजनाले मुक्तिनाथ अमित जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अवधि ३ महिना बाँकी रहँदा अन्य योजनाको तुलनामा लोमान्थाङ—कोरलाका ४ पुलको भौतिक प्रगति सन्तोषजनक देखिएको आयोजना प्रमुख जगत प्रजापती बताउँछन् । कोरला जोड्ने लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख छ । २० मिटरको एक स्पान रहेको लोमान्थाङ खोला पुलको लम्बाइ २० मिटर छ ।
निर्माणको अन्तिम चरणमा रहेको लोमान्थाङ खोला पुलको भौतिक ८९ प्रतिशत छ । लोमान्थाङदेखि कोरला जोड्ने किम्लिङ खोला पुलको सम्झौता ६ करोड ३० लाखमा भएको थियो छ । २५ मिटरको २ स्पान रहेको यो पुल ५० मिटरको छ । यसको भौतिक प्रगति ५३ प्रतिशत छ ।
बेनी जोमसोम कोरला सडक खण्डका केही पुलको काम सन्तोषजनक छ भने केहीको काम अन्तिम चरणमा भए पनि निर्माण कम्पनीले अलपत्र छाडेका छन्
नाम्डोक पुलको निर्माणका लागि ६ करोड ३७ लाखमा सम्झौता भएको थियो । २५ मिटरको २ स्पानको यो पुल ५० मिटर लामो हुनेछ । पुलको पछिल्लो भौतिक प्रगति ५५ प्रतिशत छ । यस्तै, कोरला जोड्ने भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख छ । ४० मिटरको २ स्पान पुलको लम्बाइ ४० मिटर हुनेछ । यो पुलको भौतिक प्रगति ६० प्रतिशत छ ।
लोमान्थाङसहितको उत्तरतर्फका ४ वटा पुलको काम अहिले जनशक्ति, उपकरण र निर्माण सामाग्री परिचालन भएकाले चाँडै सकिने आयोजना प्रमुख प्रजापती बताउँछन् । यस्तै, उपल्लो मुस्ताङको कोरला नाका जोड्ने चराङ खोला पुलको भौतिक प्रगति ५६ प्रतिशतमात्र छ । २०७५ असार २९ गते काष्ठमाण्डप कन्ट्रक्सनले १० करोड १८ लाखमा यो पुलको ठेक्का सम्झौता गरेको हो ।
४० मिटरको २ स्पान रहेको पुलको लम्बाइ ८० मिटर हुनेछ । यो पुल पनि सार्वजनिक खरिद नियावलीको १२ औं संशोधन अनुसार म्याद असार मसान्तसम्म कायम गरिएको थियो । कोरला जोड्ने लोघेकर दामोदरकुण्ड १ चराङ खोलाको पुल निर्माण काम पनि धमाधम भइरहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईले जानकारी दिए ।
आयोजना अन्तर्गत कोरला जोड्ने लोघेकर २ घमी खोला पुलको काम भने सुस्त छ । २०७५ पुस १६ गते सम्झौता भएको घमी खोला पुलको सम्झौता रकम ६ करोड ८० लाख छ । हिमढुङ इमोटल जेभीले निर्माणको जिम्मा पाएको छ । १ स्पानको २५ मिटर लामो घमी खोला पुलको पटक पटक थप गरिँदै आएको छ । यो पुलको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशतमात्र छ ।
हिमढुङ ढोक्कर इमोटल जेभीले नै २१ करोड ५८ लाख लागतमा ठेक्का सम्झौता गरेको मार्फा खोला पुल अलपत्र छ भने उपल्लो मुस्ताङ जाड्ने छुसाङ खोला पुल अन्तिम चरणमा छ । १ सय २० मिटर लामो छुसाङ खोला पुल ३० मिटरमा ४ स्पानको हुनेछ । छुसाङ पुलमा एप्रोज रोड विस्तारसहित फिनिसिङको काम बाँकी रहेको आयोजनाका सूचना अधिकारी चापागाईले सुनाए ।
गाल्वा रफिना जेभीले जिम्मा लिएको कोरला नाका जोड्ने कागबेनी खोला पुल अन्तिम चरणमा पुग्दा काम अलपत्र छ । २ करोड ८८ लाखमा ठेक्का सम्झौता भएको कागबेनी खोला पुलको लम्बाइ २५ मिटर छ । यहाँ पनि पुलको भौतिक प्रगति ९० प्रतिशत छ । पुल सञ्चालनका लागि एप्रोज रोड विस्तार र फिनिसिङका काम बाँकी छन् ।
सरकारले सार्वजनिक खरिद नियमावली २०६४ को १२ औं संशोधन अनुसार म्याद सकिएका अधुरा योजनामो सम्झौता अवधि २०७९ असार मसान्तसम्म कायम गरेको थियो । सो अवधिमा आयोजनाका म्याद सकिएका सडक तथा पुलहरु डेढ दर्जनभन्दा बढी छन् ।
सरकारले हालै निर्माण कम्पनीलाई सहज हुने गरी खरिद नियमावली अनुसार नै म्याद थप भई चालु रहेका योजना, म्याद सकिएका तर खरिद सम्झौता अनुसार चालु रहेका, खरिद सम्झौतामा डिजाइन परिवर्तन भएका, समय अपुग भएका, निर्माण स्थलको उपलब्धता नभएका, भुक्तानी हुन नसकेका, निर्माण सामग्री अभाव, प्राकृतिक विपद् लगायतका कारणबाट सम्पन्न हुन नसकेका योजनालाई आवश्यकता र औचित्यका आधारमा निवेदन पेश गरे थप म्याद सक्ने जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यी समस्याका कारण रोकिएका योजनालाई म्याद थप गर्न २१ दिने सूचना प्रकाशित गरेको (बेनी—जोमसोम—कोरला)सडक आयोजनाले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया