रेडियाकर्मी सारुमगरलाई ‘मौलिक कौराहा पत्रकारिता पुरस्कार’

समाधान संवाददाता २०८० साउन २ गते १२:३८

पोखरा ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् ।


नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो । रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् ।

Advertisement


त्यस अवसरमा उपसभामुख थापामगरले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन् । ‘अहिले हाम्रा पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणमा सबैले चासो राख्नुपर्ने दायित्व छ,’ उपसभामुख थापामगरले भनिन्, ‘विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारिताले थप सहयोग पुगेको छ ।’


उनले पत्रकारितामा इमान्दारिता र कर्तव्यमा रहेर यो पेशालाई थप जागरुक बनाउन आवश्यक रहेको धारणा राखिन् । पुरस्कृत पत्रकार खेम सारुमगरले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउँदै उत्प्रेरणा मिलेको सुनाए ।

Advertisement


‘रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएको छु,’ पत्रकार सारुमगरले भने, ‘मौलिक कौराहा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएपछि म माथि अझै थप जिम्मेवारी थपिएको छ र उत्प्रेरणा पनि मिलेको छ ।’


नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठन गरिएको समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । श्रव्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पु¥याउँदै आएका पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रीय अध्यक्ष हर्क आलेमगरले बताए । उनका अनुसार मौलिक कौराहा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो ।


यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मानबहादुर घर्ती (एमबी आस्था) मगर (कास्की), मनोज घर्तीमगर (कास्की) पुरस्कृत भइरसकेका छन् ।

तपाईको प्रतिक्रिया