अन्नपूर्ण गाउँपालिकामा सेवाग्राही सहायता कक्ष

समाधान संवाददाता २०८० साउन २ गते १३:१६

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले सोमबारदेखि सेवाग्राही सहायता कक्ष सुरुआत गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्रकृया,आवश्यक कागजात, सम्बन्धित शाखा लगायतको जानकारी सहित आवश्यक सोधपुछ र सहजीकरणको लागि सहायता कक्षमा छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ ।


सोमबार पहिलो सेवाग्राही कुलप्रसाद भण्डारीले आफूले सेवा लिन आएको काम सन्दर्भमा हेल्प डेस्कबाट आवश्यक सहायता लिएसँगै सहायता कक्ष सुरुआत भएको हो । पहिलो सेवाग्राहीलाई टीका लगाएर स्वागतसमेत गरिएको थियो ।

Advertisement


कार्यक्रममा नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुआतसँगै आफूहरुले राम्रो कामबाट सुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो र सहज रुपमा सेवा प्रदान गर्न सबै जना उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने उनले बताए । आफूहरु निर्वाचित भएर आइसकेपछाडि शुसासन र सरल सेवा प्रवाहका लागि लागि परेको समेत उनको भनाइ छ । गाउँपालिकाले विशेष दिन पारेर सेवाग्राही कक्ष सुरु गरेको हुँदा वर्षदिनभर नै सेवा प्रवाह प्रभावकारी हुने भन्दै सबैलाई सेवाग्राही मैत्री भएर काम गर्न गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आग्रह गरिन् ।


अन्नपूर्ण गाउँपालिकाले कार्यालय परिसरमा वाइफाई फ्री जोनसमेत घोषणा गरेको छ । कार्यालयमा आउने सेवाग्राहीले निशुल्क रुपमा वाइफाईको प्रयोग मार्फत सेवा सम्बन्धि जानाकरी,वेबसाइट भिजिट लगायत अन्य सूचना तथा जानकारी प्राप्त गर्न सक्नेछन् ।पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले प्रबिधि मैत्री सेवा प्रवाहमा जोड दिएको छ ।

Advertisement


गाउँपालिकाले गत आवमै जनताले घरमै बसेर इसेवा,कनेक्ट आइपिएसमार्फत कर तिर्न सक्ने व्यवस्था गरेको थियो भने सेवाग्राही सन्तुष्टि मापन र गुनासोका लागि क्युआर कोडबाट सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारामसमेत भर्ने व्यवस्था सुरुवात भइसकेको छ ।

तपाईको प्रतिक्रिया