
पोखरा ।
पोखरा १७ महतगौडास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर परिसरमा १ सय ८ शिवलिंग र गौमुखे जलधारा निर्माण गरिएको छ । मुक्तिनाथको झल्को दिने गरी बनाइएका शिवलिंग र गौमुखे जलधारा सोमबार पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गरिन् ।
४२ लाख ५० हजार लागतमा यी संरचना बनाइएका हुन । साउने संक्रान्ति सोमबार हिन्दू धर्मावलम्बीले १०८ गौमुखे जलधारामा स्नान गरी शिवलिंगमा सेतीनदीवाट ल्याएको जलसहित गाईको दूध र बेलपत्र चढाएका छन् ।
वडाध्यक्ष योगीले पोखराको पौराणिक एवं ऐतिहासिक मन्दिर सदाशिव सिद्धेश्वर हरिहर रहेको स्मरण गर्दै प्राकृतिक पुल, चौतारिमा अवस्थित सीताको पाइला, रामजानकी मन्दिर, पोखरा वृद्धाश्रम लगायतका यस स्थानका धार्मिक एवं प्राकृतिक सम्पदानको प्रचार प्रसारको माध्यमबाट आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन् ।
यस क्षेत्रको समग्र विकास निर्माणमा तीनै तहका सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिंदै वडाध्यक्ष योगीले भनिन्, ‘धार्मिक क्षेत्रको विकासमा वडा स्तरबाट सक्दो सहयोग गर्ने रहन्छ । स्थानीय र सरकारको सहकार्यले नयाँ नयाँ सम्भावना खोज्न सकिन्छ ।’
मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र भण्डारी शर्माले समितिसँग जगेडा रकम नभए पनि काम सम्पन्न भएको बताए ।
शिवलिंग र जलधारा निर्माणमा सहयोगदाताको साथले ‘तँ आट्, म पुर्याउँदछु’ भन्ने उक्ति चरितार्थ भएको सुनाए ।
व्यवस्थापन समितिको निर्णय अनुसार पितृ उद्धारका निम्ति एक जोडी शिवलिंग र धारा निर्माणका लागि १५ हजार रुपैयाँका दरले आर्थिक संकलन गरिएको थियो । अध्यक्ष शर्माले सबैको साथ र सहयोगबाट मन्दिर सौन्दर्यकरणमा उल्लेख्य सफलता मिलेको उल्लेख गरे ।
सो क्षेत्रमा शिवलिंग र जलधारासहित प्रवेशद्वार, हनुमान मूर्ति, पानी बोरिङ लगायतका ३५ योजनाका लागि ९८ लाख रुपैयाँ भन्दा बढी खर्च भएको कोषाध्यक्ष इसारा थापाले जानकारी दिइन् । मन्दिर परिसरमा विविध भौतिक संरचना निर्माणमा सहयोग गर्ने दातालाई सम्मान पत्रसहित सम्मान गरिएको कार्यक्रममा समितिका सचिव हरिहर भण्डारी, प्राविधिक विनोद भण्डारी, सञ्चालक कमल पुन लगायतले साउने संक्रान्ति सोमबार परेकाले औंसीको महत्वमाथि प्रकाश पारेका थिए ।
त्यसअघि बिहानै भक्तजनले सेती नदीस्थित सीताघाटमा स्नान गरी विभिन्न आमा समूह, मन्दिर व्यवस्थापन समिति, जनप्रतिनिधि सहितको कलस यात्रा मन्दिर परिसरमा पुगेर शिवलिंगमा जल, दूध र बेलपत्र अर्पण चढाएका थिए । विक्रम सम्वत १८६४ सालमा तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहले सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन पाएपछि सो स्थानको धार्मिक महत्व बुझेर मन्दिर निर्माण गरिएको शिलालेखमा उल्लेख छ ।
सोही अवधिमा मन्दिरको नित्य पूजाका लागि पोखरा १७ पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको समेत व्यवस्था गरिएको लालमोहोरमा उल्लेख छ । जग्गाको व्यवस्था मन्दिर समितिले गर्दै आएको सचिव हरिहर भण्डारीले जानकारी दिए ।
साउनको पहिलो सोमबार बिहानैदेखि सेतीनदीस्थित रामघाट, तुल्सिघाट, सीताघाट लगायतका स्थानबाट कलसयात्राका सहभागी भक्तजनले ल्याएको जल पोखराका केदारेश्वर, ओमकारेश्वर, गुप्तेश्वर महादेव लगायतका शिवालयमा चल चढाएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया