कुकुर राख्न होस्टेल खोल्दै बागलुङ नगरपालिका

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन ३ गते १४:४८
Group portrait of adorable puppies

गलकोट ।
बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्यांक संकलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।

Advertisement


नगरभित्र रहेका छाडा कुकुर व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ ।

चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख विनियोजन गरेको छ ।


नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले सुनाए । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उनको भनाइ छ । घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ ।


कुकुर दर्ताका लागि २ सय तिर्नुपर्नेछ भने नवीकरणका लागि १ सय तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा १ हजारभन्दा बढी सेवा, सुविधा दिने उनले सुनाए । ‘घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई १ वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क दिने छौं’, प्रमुख सापकोटाले भने, ‘नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौँ ।’

Advertisement


घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको संकेतका आधारमा कुकुर धनी पत्ता लगाइनेछ । जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको छ ।


नगरभित्र छाडा कुकुरका कारण दुर्घटना बढ्नुका साथै छाडा कुकुरले टोक्दा रोग फैलिएको घटना बढ्दै गएकाले छाडा कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

‘नगरपालिकाले कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ, नगरबासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो’, उनी भन्छन्, ‘घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ ।’ नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया