स्थिरताबिना विकास असम्भवः डा भट्टराई

गोरखा ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा ५ वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन् । चेम्बर अफ कर्मस गोरखाले सोमबार गोरखामा आयोजना गरेको व्यवसायीसँगको छलफल तथा अन्तरक्रियामा उनले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने टिप्पणी गरे ।
‘विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ’, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, ‘विकास र समृद्धिका लागि नयाँ ढंगले सोच्नु आवश्यक छ ।’ उनले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताए ।
राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औंल्याए । ‘कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकासमार्फत नै कृषि अर्थतन्त्रलाई उद्योग प्रधान अर्थतन्त्रको विकास गर्नुपर्छ’, उनी भन्छन्, ‘विकासका लागि पहिलो चरणमा भौतिक पूर्वाधारको निर्माण गरी विश्वबजारसँग नेपाली बजारलाई जोड्न सक्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री डा भट्टराईले गोरखा र धादिङको सिमाना निर्माण गर्ने भनिएको बूढीगण्डकी योजना निर्माण सम्पन्न गर्न सके यो आयोजना गोरखामात्रै नभई संगाे नेपालकै ‘गेम चेन्जर’ आयोजना बन्ने पनि दाबी गरे । उनले बूढीगण्डकी जलाशययुक्त आयोजना बहुउद्देश्यीय आयोजना भएकाले यसलाई जोडेर अन्य धेरै प्रोजेक्ट चलाउन सकिने सुनाए ।
तपाईको प्रतिक्रिया