दुखान्त र सुखान्तका दृष्टान्त सरुमैरानी र सरुपारानी

ठाकुरप्रसाद त्रिपाठी २०८० साउन ४ गते १२:४०

गण्डक प्रषवण क्षेत्रमा आफ्नै मौलिक संस्कृतिले सम्पन्न छ । भजन, चुड्का, सर्गुन, निर्गुन, कर्खा, सवाई तथा लोकलयमा सञ्चित अनेक सम्पदाको स्रोत हो गण्डकी प्रषवण क्षेत्र । बालन, सोरठी, कौरा, सालैजो, मालश्री ठाडोभाका विभिन्न रस, राग, छन्द, लयमा पनि यस क्षेत्रमा बेजोड शैलीको सम्पदा सम्हालेको क्षेत्र हो गण्डक प्रषवण । आजको यो आलेखमा ऐतिहासिक दुई महिला पात्रको दर्दनाक कथा तथा जीवनका भोगाइको विषयमा चर्चा गरिएको छ ।

Advertisement


आजभन्दा २० वर्षअगाडिसम्म खुबै सुनिने सरुमैरानीको कर्खा र उनको जीवनमा घटित कारुणिक रसले भरिएको गन्धर्वहरूले गाउने गीत ‘सरुमैरानी’ को बारेमा तिनको कर्खा कस्तो छ ? को हुन् सरुमैरानी ? उनको भोगाइ के हो ? भन्नेबारे धेरै कमलाई थाहा छ । कास्कीका राजा नर शाह (धर्मवल्भव) का छोरा शिव शाह विसं १७३१ – १७३५ सम्म राजा भएका थिए । यिनको विवाह दैलेखका राजाकी छोरी सँग भएको थियो ।

तिनको नाम सरुमया थियो । कास्कीतिर उनलाई सरुमैरानी भनिन्यो । यिनको विवाह भएको पनि निकै वर्ष बितिसकेको थियो । राजकुमार शिव शाह आफ्नो बाबुको राजपाठ सञ्चालनमा व्यस्त थिए । आजभोलि भन्दाभन्दै १२औं वर्ष बितेको थियो । कास्कीका राजा नर शाहको मृत्युपछि राज्यभार सम्हालेका शिव शाहलाई सरुमैरानीले माइत जाने प्रस्ताव गरिन् । शिव शाहले आलटाल गर्दै थिए । उनको हठका कारण उनी ससुराली जान बाध्य परे ।

सरुमारानी दैलेख माइत जाँदा श्रीमान् मारिएपछि सती गइन् र वियोगान्त गीत बने, सरुपारानीलाई मनाङ पुर्‍याएर बचाइयो र संयोगान्त गीत बने


भाइभारदार दैलेख ससुराली जाने निश्चय भयो । दरबारमा रानीले अपसगुन देख्न थालिन् । पानी छ्यापेर हेर्दा कपाल फुल्नु, चिउरा कुट्दा सिरौला जस्ता भए । रोटी बनाउँदा ठुन्का परेर टुक्राटुक्रा भए । यस्तो धेरै अपसगुन देखिए । तैपनि सरुमैरानी माइती घर जाने निश्चित भयो । साइतको बेलामा टीका लगाउने थाली पनि भुइँमा खस्यो । तै पनि घोडाकाठी अन्य लस्कर तयार थिए । कास्कीबाट दैलेख पहाड, लेक, खोला, खोल्सी तरेर माइतीको देशमा पुगिन् ।

Advertisement

त्यहाँकी रानीले शिव शाहलाई आफ्नी छोरी दिन चाहन्थिनन् । तर त्यहाँका राजाले सौताकी छोरी सरुमैरानीलाई दिएकाले रानी क्रुद्ध थिइन् । अतः जब ससुराल शिव शाह र रानी पुगिन्, उनका लागि छुट्टै खाना तयार भयो । शिव शाहले खाना खाए । खाना खान नपाउँदै ढुलुमुलु भएर विषको प्रभावले राजाको मृत्यु भयो । सरुमैरानीलाई आपत आइलाग्यो । विरहले रुन, कराउन थालिन् । विस्मात पर्‍यो । शिव शाहलाई श्रीखण्डको चिता तयार गरेर जलाइयो । आगो लागेन । धर्मपुत्र बनाएर सल्काएपछि मात्र आगो जल्यो । सरुमैरानी त्यही चितामा जलिन् भन्ने गीत नै सरुमैरानीको कर्खा या वियोगान्त पुरानो गीत हो ।


शिव शाहका छोरा जिदल हुन् । उनी यता राजा हुन पुग्छन् । कति इतिहासकारले शिव शाहको विवाह भएको अन्यत्रै बताएका छन् । त्यो समगोत्रीसँग विवाह हुन सक्ने कुरा हैन । यो घटना सत्रौं शताब्दीको हो । यस्तै अर्को सरुपारानीको कारुणिक घटना यो घटना विसं १५०० को मध्यमा हुन पुग्छ ।


कास्कीका राजा कुलमण्डल खाँणलाई लमजुङहरु राजा माग्न आए । राजा थाप्न आउनैहरु खजे दुरा कुसुमाकर घिमिरे, सुकराम दुरा लगायत व्यक्ति थिए । कुलमण्डल शाहका माइला छोरा कालु शाह (दीपक शाह) लाई दिने निर्णय गरियो । कालु शाहलाई लमजुङका दुरा र घिमिरेको साथ लागेर सिन्दुरे ढुंगामा लगी राज्यरोहण गरियो । केही वर्ष राज्य चलाएका थिए । त्यहाँका भुरे, टाकुरे घले राजालाई राम्रो लागेको थिएन । बारबार निधिखोजी गरिहन्थे । त्यसै समयमा शिकार खेल्न जाँदा विषाक्त तरबार हानेर निहत्था कालु शाह मारिए । सरुपारानी गर्भवती थिइन् । लमजुङ बस्न सक्ने स्थिती भएन । उनी आफ्नै राज्यमा फर्किइन् । यता कास्कीका राजा कुलमण्डले शाहले अर्घो वडाकोटमा बस्ने सल्लाह दिएछन् ।


अर्घौ वडाकोटको मुख्तियारी चैतु शाहलाई दिएका थिए । चैतु शाह कुलमण्डल शाहका साइँला छोरा हुन् । भाउजु गर्भवती भएको कुरा चैतुलाई थाहा थियो । उनबाट छोरा जन्मिएमा आफ्नो मुख्तियारी छुट्ने खतराले उनलाई षडयन्त्र गरी मार्ने योजनामा लागेका थिए । त्यो त्यहाँका अरु भाइभारदारहरुलाई सैह्य थिएन । त्यहाँका चारदार, गुरुङ, त्रिपाठी, अधिकारी थापा, कमर, नाथ र कुमाल मिली सरुपारानीलाई मनाङको शनिओडारमा लगेर लुकाएर राखे । उनी त्यही ठाउँमा सुत्केरी भइन् । यता राज्यमा खलल पुर्‍याएको भन्ने आरोपमा झाँगलसिंह खत्री (अधिकारी) काटिए । त्यसै समयदेखि झाँगल मारे हुँदै ‘झाँझरमारे’ भनी त्यस ठाउँलाई भन्न थालियो ।


शनिओडरबाट सुत्केरी सरुपारानी कास्की दरबारमा पुगिन् । सरुपारानीको छोराको नाम कुलमण्डल शाहले राज शाह राखिदिए । यिनै राज शाहले पछि आफ्नो आमा र उनको सहायताले त्यहाँका भारदार, उमरावहरुलाई किपट तथा बिर्ता जमिन दिएका थिए ।


यस क्षेत्रका ऐतिहासिक यी दुई पात्र सरुपारानी र सरुमैरानीको कथा गाथा गन्र्धवले गाउँदै आएको १७ औँ शताब्दीको कविता गीत यो हो भने यी त्यस वेलाका प्रमाणित दस्तावेज पनि हुन् । दुई नारीले भोगेको कष्ट र ज्यानसमेत सती जानुपरेको हुँदा यता गण्डक प्रषवण क्षेत्रतिर वियोगान्त र संयोगान्तका दृष्टिले निकै प्रचलित प्रसंगका रुपमा लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया