लम्पी स्किनको उपचार वडा वडामा

समाधान संवाददाता २०८० साउन ४ गते १४:१५

बलेवा ।
बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधी र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधी र खोप पठाएको हो ।


२ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधी पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताए । केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ ।


लम्पी स्किनबाट बागलुङमा १ सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ ।

Advertisement


वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको संक्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले सुनाए । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । ढोरपाटन नगरपालिकाका १ हजार २ सय गाईगोरु यसबाट बिरामी छन् । निसीखोलामा ५ सय १३, गलकोट नगरपालिकामा १ सय ४२, बडिगाड गाउँपालिकामा १ सय ८१ र तमानखोलामा १ सय ८९ गाई बिरामी परेका छन् । बागलुङ नगरपालिकामा पनि २ सय २१ गाईमा पनि लम्पी स्किन देखिएको छ ।


संक्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले ४ हजार ५ सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले जानकारी दिए । सबैभन्दा धेरै संक्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले जनाए । किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग संक्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि संक्रमण बढी हुने गरेको पाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया