सांगीतिक कलाकार संघमा हर्कराज

समाधान संवाददाता २०८० साउन ७ गते ११:१६

पोखरा ।
पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत भएका छन् । शनिबार भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।


सघंको उपाध्यक्षमा टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्ष शान्तरत्न बज्राचार्य र सहसचिवमा विनोद वानियाँ चयन भए । सदस्यमा ईन्द्रबहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त २ सदस्य कार्यसमितिले मनोनयन गर्ने छ ।


संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिका सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा थिए ।

Advertisement


संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर सुनाए । ‘गीतको लागि आवश्यक पर्ने तीन तत्व एकसाथ देख्ने रहर छः सबै टीमको तालमेल नभएर गीत राम्रो भएन,’ उनले भने ।


सांगीतिक क्षेत्र अव्यवस्थित भएकाले संगठित हुनुपर्नेमा श्रेष्ठले जोड दिए । कलाकारको आम्दानीको स्रोत पहिला भन्दा घटेको र हुने गरेका स्टेज कार्यक्रमा समेत केही व्यक्तिको मात्र पहुँच हुँदा समस्या भएको उनले औल्याए । केही राम्रा कार्यक्रम ल्याएर पोखराको सांगीतिक क्षेत्रमा नयाँ भाइब्स ल्याउनुपर्नेमा उनको जोड छ ।

Advertisement


संघका सल्लाहकार शेरबहादुर गुरुङले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानमा पोखरा सांगीतिक कलाकार संघमा आवद्ध संगीतकर्मी पुग्न नसक्नु दुःखद भएको बताए । आगामी दिनमा ती प्रतिष्ठानमा संघको प्रतिनिधित्व हुने हिसाबले अगाडि बढ्नसमेत उनले नयाँ कार्यसमितिलाई सुझाव दिए । अर्का सल्लाहकार ज्ञानबहादुर थापाले कलाकार राज्यको सम्पत्ति भए पनि राज्यले हेर्ने दृष्टिकोण कलाकारमैत्री नभएको गुनासो गरे ।


पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कबहादुर थापा क्षेत्री (सुनील थापा) को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हर्कराज गुरुङ, सचिव राजेन्द्र अधिकारी, शान्तरत्न बज्राचार्य लगायतले बोलेका थिए । १८ वर्षअघि स्थापना भएको संघमा हाल पोखराका ३८ संगीतकर्मी सदस्य छन् । हालसम्म संघको नेतृत्व दीपक भट्टराई, श्यामशुङ तामाङ र हर्कबहादुर थापा क्षेत्रीले गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया