भ्रष्टाचारविरुद्ध सरकार सक्रिय छः पौडेल

समाधान संवाददाता २०८० साउन ७ गते ११:२०

बागलुङ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा नेपाल सरकारका पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार विरुद्दको अभियान थालेको बताएका छन् । उनले कसैको दबाबमा नपरी काम गरेको भन्दै वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरु डराएको दाबी गरे ।


उनले सरकारले सुशासनको एजेन्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानुनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार विरुद्ध आवाज उठाएको आरोप लगाए । उनीहरुको उक्साहटमा लागेर केही राजनीतिक दलका नेता, कार्यकर्ताले पनि सरकार विरोधी धारणा बनाएको उनको ठम्याइ छ ।


उनले अहिलेसम्म संस्थागत रुपमा कुनै पनि दलले सरकार विरुद्धको अभियान नचलाएको बताए । ‘एकादुइले कतै व्यक्तिगत रुपमा बोल ेपनि संस्थागत रुपमा यो गठबन्धन विरुद्ध पनि आवाज आएको छैन,’ उनले भने, ‘सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएको कसैलाई मन नपरेको हुन सक्छ तर संस्थागत रुपमा कसैले सरकारको विरोध गरेमा पनि केही फरक नपर्ने उनले बताए ।

Advertisement


प्रेस सेन्टर नेपाल, बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघीय निजामती ऐन लगायतका कानुन अब आउने बताए । मिटरब्याज विरुद्धको विधेयक पास भएको र अन्य धेरै समस्या समाधानमा सरकारले काम गरेको उनको भनाइ छ । पौडेलले प्रधानमन्त्रीको दलको सचिवका नाताले धेरै काममा दलको अपनत्व भएको सुनाए ।


उनले हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिव शिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने आश्वासन दिए । उनले उजुरी नपरुन्जेल ढिला भए पनि अब भने प्रशासन पनि तातेर जनताको पैसा हिनमिना हुन नदिनेमा पुगेको बताए । ‘हामीले भनेका छौं, प्रशासन पनि तातेको छ,’ उनले भने, ‘पीडितको उजुरी ढिला आएकाले कतिपय अनुसन्धान, पक्राउ पुर्जी जारी लगायतका काम ढिला भएको रहेछ ।’

Advertisement


इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली जेठ ५ गतेदेखि फरार छन् । हजारौं पीडितले सडक संघर्ष र कानुनी उपचार खोजिरहेका छन् ।


यसअघि जिल्ला अदालत बागलुङले पीडितको पक्षमा हुने गरी सञ्चालक समितिका पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गर्नुका साथै थुनामा राख्ने आदेश दिएको छ । १ हजार ५ सय ४३ जनाले दिएको मुद्दाको आधारमा १ अर्ब ३० करोड बढी हिनामिना भएको ठहरसहित प्रहरी र सरकारी वकिलको कार्यालयले अदालतमा नेपालीसहितका सञ्चालन विरुद्ध मुद्दा चलेको हो ।

तपाईको प्रतिक्रिया