अंगदान गर्ने महिला, लिने पुरुष

रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अंग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अंग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अंगदानको प्राथमिकतामा पर्छन् ।
श्रीमान्का लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् वा बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा । यस्तो अवस्थामा घरका पुरुषहरु वा महिलाहरुमध्ये को पहिला अंगदानका लागि तयार हुन्छन् होला ? सामान्य अवस्थामा हेर्दा पुरुष र महिला भन्नै पर्दैन, सबैका लागि सबै तयार हुन्छन् भन्ने लाग्छ । तर तथ्यांकले त्यस्तो भन्दैन । अंगदानमा पनि व्यापक लैंगिक विभेद् देखिने गरेको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्याङ्कअनुसार अहिलेसम्म भएको अंगदानको विश्लेषण गर्दा ७८ प्रतिशत अङ्गदाता महिला छन् भने २२ प्रतिशत मात्रै पुरुष छन् । महिलाले दान गरेको सबै अंड पाउने सबै पुरुष छन् । महिलाले महिला र पुरुष दुवैका लागि अंगदान गरिरहेका बेला पुरुषको अंग पाएर ज्यान बचाउने महिलाको सङ्ख्या अत्यन्त न्यून छ ।
प्रत्यारोपणका लागि अंगदान गर्नेमा महिलाको सङ्ख्या बढी छ । महिलाले दान गरेका अंग लिने जति सबै पुरुष छन् । श्रीमान्लाई अंगदान आवश्यक परेमा श्रीमती सजिलै तयार हुँदा श्रीमान्ले भने कन्जुस्याइँ गर्छन् । विभिन्न बहाना बनाउँछन् । आफन्तलाई अंग आवश्यक पर्दा दिन तयार हुने महिलालाई अंग प्रत्यारोपण गर्नु परेमा पुरुषहरु पर सर्ने गरेको तथ्यांकले देखाएको छ ।
अहिलेसम्मको अंगदानको विश्लेषण गर्दा ७८ प्रतिशत दाता महिला र २२ प्रतिशतमात्रै पुरुष छन्
पुरुषको अङ्गले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ । अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन् । ‘श्रीमतीले श्रीमान्लाई सजिलै अंग दान गर्छन, तर श्रीमानले श्रीमतीलाई दिन मान्दैन, बुवा आमालाई आवश्यक परेमा छोरीले दान गर्छ तर छोराले दिंदैन’, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘ अंगदानमा देखिएको यो विभेदले आफूलाई पुरुष भन्न पनि लाज लाग्छ ।’
लैंगिक विभेद अंगदान र प्रत्यारोपणको चुनौती नै बनेको डा. श्रेष्ठ बताउँछन् । अंगदान गर्ने पुरुषको सङ्ख्या बढाउनकै लाागि महिलालाई पुरुषले अंग दिँदा ५० हजार आर्थिक सहयोगको व्यवस्था छ । यो प्रावधानले पनि धेरै सुधार ल्याउन सकेको छैन । महिलाले पनि प्राथमिकतासाथ मृर्गौला प्रत्यारोपण गर्न पाउन् भनेर मस्तिष्क मृत्युबाट प्राप्त हुने मिर्गौला वितरणमा महिलालाई पुरुषको दाँजोमा तेब्बर प्राथमिकता दिइएको डा. श्रेष्ठ बताउँछन् ।
समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकको रुपमा लिइन्छ । श्रीमान्ले परिवारको पालनपोषण गर्नुपर्छ भन्ने पुरानो मान्यता छ जसले गर्दा उसले अंगदान गर्नु हुँदैन भन्ने सोच परिवार र आफन्तले राख्छन् । तर यो सबै पितृसत्ताकै उपज हो भन्छिन्, अधिकारकर्मी प्रतिमा शर्मा ।
उपयोगितावादले गर्दा महिलाप्रति पुरुषको सम्बेदना कम हुने गरेको उनको विश्लेषण छ । ‘महिलाप्रति व्यक्ति र समाजको सोच बदल्न सानो लगानीले हुँदैन । सरकार, निजी क्षेत्र तथा सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ, शिक्षाको पाठ्यक्रम पनि त्यही अनुसारको बनाउनुपर्छ’, शर्मा थप्छिन् ।
लैंगिक विभेद अन्त्य गर्न पितृसत्तात्मक संरचना नै बदल्नुपर्ने र तीनै तहका सरकारले प्रत्येक घरधुरीमा पुग्ने गरी व्यापक सचेतना जगाउनु पर्ने सुझाव अधिकारकर्मी शर्माको छ । अंग नपाएका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपालमा २०७४ देखि मस्तिष्क मृत्युपछि अंगदान गर्ने प्रचलन सुरु भयो ।
१८ वर्षभन्दा माथिका व्यक्तिले स्वइच्छाले आफ्नो नजिकका नातेदारलाई चिकित्सकीय उद्देश्यका साथ मानव अंग, मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ कानुनको अधिनमा रही अंगदान गर्न सक्छन् । हाम्रो मृत्युपछि डढेर र गलेर जाने अंगले अरुको जीवन बचाउन सकिन्छ ।
अङ्ग शरीरको विशेष काम गर्ने अवयव हुन् जस्तैः मुटु, फोक्सो, मिर्गौला, कलेजो, प्याङक्रियाज तथा आन्द्रा इत्यादि । त्यस्ता रोगीहरु जसको रोगका कारण अंग विफलताको अन्तिम चरणमा बसेर मृत्यु कुरेकालाई अंगदानले नयाँ जीवन दिन्छ ।
डा श्रेष्ठका अनुसार नेपालमा वर्सेनी ३ हजार मानिसको मिर्गौलाले काम नगर्ने हुन्छ तर प्रत्यारोपण भने तीन सयको मात्रै भइरहेको छ । बाँकी २७ सयको प्रत्यारोपण जरुरी छ तर मिर्गौला छैन । अंगदान र प्रत्यारोपण बारेमा पर्याप्त सचेतना नहुँदा अङ्ग नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको डा. श्रेष्ठको भनाइ छ । ‘स्वस्थ व्यक्तिले पनि अंगदान गर्न चाहँदैन, मृत व्यक्तिको अंग निकाल्न परिवार र आफन्तले दिदैनन्’, उनी भन्छन् ।
नेपालमा अहिलेसम्म झण्डै १ हजार १ सयको मिगौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपणका लागि अंगदान गर्नेहरु पनि सबै स्वस्थ छन् । मिर्गाैला दान गर्ने व्यक्ति धेरै वर्ष बाँच्ने चिकित्सा विज्ञानले नै प्रमाणित गरेको डा श्रेष्ठ बताउँछन् ।
कुनै पनि व्यक्तिको अंग फेल भएमा दीर्घकालीन उपाय भनेको अर्को अंग राख्ने हो । अ्गप्रत्यारोपणको विकल्प छैन ।
मिर्गौलाको डायलाइसिस सेवा भए पनि प्रत्यारोपणको विकल्प होइन । ‘डायलाइसिस गरेपछि प्रत्यारोपण गर्नु पर्दैन भन्ने भ्रम हामीमा छ तर डायलाइसिसले मानिसलाई केही समय बचाउने मात्र हो, पुनःस्थापना होइन’, श्रेष्ठ भन्छन्, ‘डायलाइसिस गरेर बस्नु भनेको सधैं बिरामी भइरहनु हो भने मिर्गौला प्रत्यारोपण रोग निको पारेर पहिलाको झैं तन्दुरुस्त हुनु हो, रोगमुक्त हुनु हो ।’ नेपालमा एक वर्षमा झण्डै ३० हजार डायलाइसिस सेसन हुने गरेको छ ।
मधुमेह रोग नभएको, उच्च रक्तचाप (सुगर, प्रेसर) बढेर धेरै औषधी नखाएको, क्यान्सर र सरुवा रोग नलागेका मानिसले अंगदान गर्न सक्छन् । १८ वर्षदेखि माथि ६५ वर्ष र स्वस्थ छ भने त्यो भन्दा पनि धेरै उमेर भएकाहरूले पनि अंगदान गर्न मिल्छ ।
नेपालमा मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ अनुसार स्वस्थ व्यक्तिले आफ्नो नजिकको नातेदारलाई अंग दिन मिल्छ । नजिकको नातेदार भन्नाले बाबु–आमा, दाजु–भाइ, दिदी–बहिनी, बाजे–बजै, छोरा–छोरी, नाति–नातिनी, भतिजा–भतिजी, ज्वाँइ–जेठान, काका–काकी, भाञ्जा–भाञ्जी, मामा–माइजु, श्रीमान–श्रीमती, दुई वर्षदेखि सँगै बसेका धर्मपुत्र–धर्मपुत्री, सौतेलो बाबु–आमालगायतले अंग आपसमा लिन दिन सक्ने कानुनी व्यवस्था छ ।
नातेदारको बीचमा अंग गलिने दिने भए पनि मिलेन भने अर्को परिवारसँग मिल्यो भने साटासाट गर्न पाइने व्यवस्था छ । साटासाट गरेर पनि प्रत्यारोपण हुने गरेको छ । नजिकका नातेदारले मात्र अंगदान गर्न पाउने प्रावधान भएकाले कानुन विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई ५ वर्ष कैद र ५ लाख जरिवाना हुने प्रावधान छ ।
मष्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त भएको अंग पनि प्रत्यारोपण हुने गरेको छ । तर नेपालको हकमा अंग प्रत्यारेपणका लागि सबैभन्दा प्रभावकारी मस्तिष्क मृत्युपश्चातको अंग दान भए पनि चेतना नहुँदा दान गर्न धेरैले कन्जुस्याइँ गर्ने गरेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा. कल्पनाकुमारी श्रेष्ठ बताउँछिन् । आँखादान जस्तो सहज अरु अंग दान हुन नसकेको उनको भनाइ छ ।
नेपालमा अहिलेसम्म २७ सय बढीले मष्तिष्क मृत्युपश्चात अङ्गदान गरेका छन् भने २२ सय जनाले दान गर्ने घोषणा गरेका छन् । अंग नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न अंगदानको महत्व र आवश्यकता सबै नागरिकलाई बुझाउन आवश्यक छ । मस्तिष्क मृत्युपछिको अंगदान कुनैपनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणा भएपछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको निर्धारित समयसम्म आँखादान मात्रै सम्भव हुन्छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गर्छ । यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अंग निकाल्ने काम हुन्छ । मस्तिष्क मृत्युको घोषणा ऐनले तोकेका योग्यता पुगेका चिकित्सकहरुमध्ये बिरामीको उपचारमा संलग्न चिकित्सकसहित कम्तिमा एकजना ऐस्थेलियोजिष्ट वा इन्टेसिसभस्ट रहेको टोलीबाट परीक्षण पछि मात्रै गरिन्छ । यस्ता चिकित्सकहरु प्रत्यारोपण कार्यमा संलग्न हुन पाउँदैनन् ।
यसरी चिकित्सा विशेषज्ञको टोलीले ६ घण्टाको अन्तरालमा २ पटक परीक्षण गरी सुनिश्चित भएपछि मात्रै मस्तिष्क मृत्युको घोषणा गरिने डा श्रेष्ठ बताउँछिन् । ‘अंगदान गर्ने घोषणा गरेको व्यक्तिको मृत्यु हुन्छ, आफन्त शोकमा हुन्छ, यस्तो अवस्थामा परिवार र आफन्तलाई अंगदानका लागि बुझाउन निकै संघर्ष गर्नुपर्छ, कतिपय ठाउँमा समस्या भोग्नुपरेको छ’, उनी सुनाउँछिन् ।
प्रत्यारोपण केन्द्रका अनुसार ‘ब्रेन डेथ’ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । मुटु ६ घण्टा, कलेजो १५ घण्टा, फोक्सो ८ घण्टा, सानो आन्द्रा १० घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ । मृत्युपश्चात अंगदाताको शरीरबाट सावधानीपूर्वक अंग निकालिने भएकाले शवमा कुनै पनि विकृति नदेखिने उनी बताउँछिन् ।
मिर्गौला स्वस्थ राख्न हाम्रो आनिबानी परिवर्तन गर्नुपर्छ । हरेक दिन प्रशस्त पानी पिउने, उच्च रक्तचाप र शरीरको तौल नियन्त्रणमा राख्न, मद्यपान र धुम्रपान नगर्न, नियमित स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्यप्रति सचेत रहन चिकित्सकको सुझाव छ । पहिले रक्तदान गर्नेको संख्या निकै कम थियो अहिले सचेतनाका कारण बढ्दै गएको छ । तीनै तहका सरकारले अंगदान नै जीवन दान हो भन्ने महत्व बुझाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया