मजदुर नेता सुवेदी सम्मानित

समाधान संवाददाता २०८० साउन ७ गते १६:३३

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले अग्रज मजदुर नेता सूर्यमोहन सुवेदीलाई शुक्रबार सम्मान गरेको छ ।


जिफन्टको ३४ औं स्थापना दिवसको सन्दर्भमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ ट्रेड युनियनकर्मी सञ्जालका सदस्य सुवेदीलाई सम्मान गरिएको जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्ट गण्डकी तथा धौलागिरी कमिटी अध्यक्षसमेत रहेका सुवेदीले जिफन्टको संस्थागत विकासमा योगदान पुर्‍याएका थिए ।


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख मोहन रेग्मीले पार्टीको नेतृत्वमा सरकार बनेको बेलामा समाजवादमा जाने आधार तयार गरेको बताए । ‘एमालेको पालामा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिएको थियो,’ उपाध्यक्ष रेग्मीले भने, ‘रोजगारी सिर्जना, आर्थिक समृद्धि र राष्ट्रिय पुँजी निर्माणमा ध्यान दिएका थियौं ।’ उनले जिफन्टलाई गतिशील बनेर धेरैभन्दा धेरै श्रमिकलाई ट्रेड युनियन आन्दोलनमा जोड्न आग्रह गरे ।

Advertisement


जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन समितिका प्रमुख मीना गुरुङले श्रमको सम्मान नभएसम्म देशको समग्र विकास सम्भव नभएको बताइन् । उनले कामका हिसाबले मानिस ठूलो सानो नहुने तर्क गरिन् । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष खत्रीले हरेक साउन १ गतेदेखि श्रमिकको मासिक पारिश्रमिक बढाउनुपर्नेमा वर्तमान सरकारले नबढाएको बताए । उनले पारिश्रमिक वृद्धिका लागि देशव्यापी रुपमा आन्दोलन गर्ने जानकारी दिए ।


कार्यक्रममा जिफन्ट गण्डकी धौलागिरी समन्वय कमिटी अध्यक्ष सूर्यमोहन सुवेदी, जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लीलाबहादुर कार्की, सहसचिव तीर्थराज मगर लगायतले जिफन्टको स्थापना दिवसका बारेका बोलेका थिए ।

Advertisement


यसैगरी, जिफन्ट ३४ औ स्थापना दिवसको सन्दर्भमा नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलान्स संस्कृति, पुरातात्विक,कार्गो कुरियर र श्रमिक युनियन (युनिट्राभ)गण्डकी प्रदेश कमिटीको आयोजनामा शुक्रबार खुला रक्तदान कार्यक्रम गरिएको छ । थ्री सिस्टर प्रतिष्ठान युनियन पोखराको सहआयोजनामा भएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको युनिट्राभ गण्डकी प्रदेश कमिटी अध्यक्ष शालिकराम तिमिल्सिनाले जानकारी दिए ।


प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरेको कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्री, राष्ट्रिय कमिटीका सदस्य पम्फा पहारी, पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, युनिट्राभ गण्डकी प्रदेश कमिटी सचिव रामकृष्ण तिमिल्सिना, कार्यक्रम संयोजक बबरसिंह दुलाल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया