पहिरो नियन्त्रण गर्न सहयोग

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन ७ गते १६:५४
फाइल फाेटाे

कास्की ।

माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट १५ लाख सहयोग प्राप्त भएको छ । गत वर्ष असारमा अविरल वर्षापछि पहिराले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्सी दम्पतीले सो रकम प्रदान गरेका हुन् ।


सहयोग रकमको ‘चेक’ शुक्रबार स्वीस नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतलाई हस्तान्तरण गरे । स्वीस व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुगेका थिए । विद्यालयको खेल मैदानसम्म पहिराले जोखिममा पारेको प्रत्यक्ष देखेपछि उहाँहरूमा सहयोगको भावना जागृत भएको थियो ।

Advertisement


त्यस बेला आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका दुवैले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए । विद्यालयका पूर्वअंग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोगका लागि समन्वय गरेका थिए ।


प्रधानाध्यापक रावत भन्छन्, ‘पहिराले विद्यालय जोखिममा परेको देखेपछि उहाँहरू विद्यार्थीका बारेमा चिन्तित हुनुभएको थियो । स्वीट्जरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हामीहरू विश्वस्त थियनौँ तर हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुसी भएका छौँ ।’

Advertisement


पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट ५ लाखका बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिए पनि चालु वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।


२ स्वीस नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिट्टै काम अघि बढाइने प्रधानाध्यापक रावतले जानकारी दिए । ‘हाम्रो विद्यालयका लागि उहाँहरूले ठूलो सहयोग गर्नुभएको छ । उहाँहरूको चाहना अनुसानै विद्यालयको भवन संरक्षणका काम अघि बढाउँछौँ,’ रावत भन्छन् । ती स्वीस नागरिक विद्यालय भ्रमणका बेला विद्यालयको शैक्षिक र व्यवस्थापकीय वातावरण, कम्प्युटर र प्रयोगशाला लगायतका पूर्वाधारबाट उत्साहित भएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया