तिब्बती शरणार्थीले मनाए स्वर्ण जयन्ती

सुन्दरकुमार थकाली २०८० साउन ८ गते ११:३१

जोमसोम ।
मुस्ताङमा बसोबास गर्ने तिब्बती शरणार्थीले आइतबार तिब्बती शिविर स्वर्ण जयन्ती मनाएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो गाउँको छेरोक नाम्ग्यालिङ समाजघरमा तिब्बती शरणार्थी समुदायका सदस्यले औपचारिक कार्यक्रम गरी ५० औं तिब्बती शिविर स्थापना दिवसको सन्दर्भमा स्वर्ण जयन्ती मनाएका हुन् ।


मुस्ताङमा बसोबास गर्ने तिब्बती शरणार्थीको शिविर स्थापना दिवसमा मुस्ताङ बाहेकका ७ स्थानका शरणार्थी क्याम्पका प्रतिनिधि आएको छेरोक तिब्बती क्याम्पका पूर्व मुखिया नर्वु फुन्छोक लामाले जानकारी दिए । मुस्ताङी तिब्बती शिविरको स्वर्ण जयन्तीमा सहभागी हुन पोखराको हेमजा तिब्बती क्याम्प, पोखरा पृथ्वी चोक तिब्बती क्याम्प, पोखराको छोरेपाटन तिब्बती क्याम्प, दुलेगौडा तनहुँ तिब्बती क्याम्प, काठमाडौं जावलाखेल तिब्बती क्याम्प , काठमाडौं स्वंम्भु तिब्बती क्याम्प र काठमान्डौं बौद्ध तिब्बती क्याम्पका शरणार्थी प्रतिनिधिको टोली मुस्ताङ आएको हो ।

तपाईहरु यहाँ बाध्यताले बस्नुभयो, हामी नेपाली रहरले विदेशमा शरणार्थी बनिरहेका छौं ।
मोहनसिंह लालचन
अध्यक्ष, घरपझोङ गाउँपालिका

Advertisement


तर, स्वर्ण जयन्तीमा दोलखा, मनाङ, ताप्लेजुङ र रसुवामा बस्ने तिब्बती शरणार्थीका प्रतिनिधि टोली उपस्थित हुन नसकेको पूर्व शरणार्थी मुखिया नर्वु फुन्छोक लामाले बताए । नेपालमा तिब्बती शरणार्थीका एक दर्जन शिविर छ । शिविरको स्वर्ण जयन्ती समारोह काठमाडौं लाजिम्पाट स्थित शरणार्थी क्याम्पमा बस्ने काठमाडौं क्षेत्रका शरणार्थी संघका अध्यक्ष लोफेन टुल्कुले उद्घाटन गरे । स्वर्ण जयन्तीमा तिब्बती शरणार्थी संघका अध्यक्ष रोम्वा छिरिङ र सभामुखले भर्चुअल माध्यमबाट शुभकामना दिए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आफू बाल्यकालदेखि नै शरणार्थी माहोलमा हुर्किएकाले उनीहरुको दुखसुखमा नजिक रहेको बताए । जोकोही शरणार्थी बाध्यताले बन्ने उनको अध्यक्ष लालचनको भनाइ छ । ‘तपाईहरु यहाँ बाध्यताले बस्नुभयो, हामी नेपाली रहरले विदेशमा शरणार्थी बनिरहेका छौं, ‘शरणार्थीप्रति सहानुभूति दर्शाउँदै अध्यक्ष लालचने, ‘यही भूगोल, यही माटोमा हुर्किएका शरणार्थी पनि छन्, जसलाई आफ्नो देश भन्दा यही थलो प्यारो छ ।’

Advertisement


अध्यक्ष लालचनले शरणार्थी शिविरमा कुनै समस्या र चुनौती भएमा आफूले समाधानको बाटो खोज्ने प्रतिवद्धता गरे । कार्यक्रममा शरणार्थी क्याम्पका युवायुवतीले सांस्कृतिक नृत्य देखाएका थिए । १९९६ मा तिब्बतीयन सांस्कृतिक विद्रोह हुँदा दलाई लामाले तिब्बती खम्पाहरुको नेतृत्व गरेका थिए । त्यसपछि तिब्बती खम्पा विद्रोहीलाई सरकारले २०३१ सालमा धपाएपछि तिब्बतीहरु शरणार्थीको रुपमा नेपाल बसेका थिए ।


मुस्ताङको छैरोमा सन् १९७३ मा शरणार्थी क्याम्प स्थापना भएको थियो । मुस्ताङको शरणार्थी क्याम्पमा सुरुवातमा ५० घरधुरीका २ सय २४ जना बस्ने भए पनि अहिले २ सय १६ जनाको बसोबास छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया