सम्पादकीयः पार्किङका दुख

पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि चाइनापुलसम्म सवारी साधनको पार्किङ निषेध गरेको छ । त्यसो त महानगरपालिकाको उद्घोष सडकमा पार्किङ निषेध पनि हो । सिद्धाथचोक, चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोड, नयाँबजार, सभागृहचोक, सिर्जनाचोक जस्ता महत्वपूर्ण बजार क्षेत्रका सडकमा पार्किङ नभएकै जाती हुन्थ्यो । महानगरपालिकाले ती चोक र ठाउँका सडकमा पार्किङ नगर्ने भनेकै थियो । सशुल्क पार्किङको व्यवस्थाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेको थियो । तर सडकमा पार्किङ रोकिएन । व्यवस्थापन गर्न महानगरले सकेन । सशुल्क पार्किङको व्यवसाय गर्न चाहेकाहरु घाटामा गए ।
सडक गाडी गुड्नका लागि हो, गाडी विश्राम गर्नका लागि होइन । महँगा भवनहरु बनाउने तर पार्किङका लागि आफूले ठाउँ नबनाएर सार्वजनिक सडकलाई प्रयोग गर्नुभनेको दुरुपयोग हो । त्यसो त मुख्य सहरी क्षेत्रमा अन्डरग्राउन्ड पार्किङका लागि पनि महानगरपालिकाले जोर गरेकै हो । तर अझै सबै अन्डरग्राउन्ड खाली भएनन् । अन्डरग्राउन्डबिना घर तथा भवन निर्माण अनुमति नदिने मुख्य बजार क्षेत्रमा जुन नीति अख्तियार हुँदै गएको छ, त्यो कडाइका साथ पालना भए कुनै न कुनै दिन सकारात्मक नतिजा निस्कन सक्छ ।
सहरको सुन्दरताका लागिमात्रै नभई व्यवस्थितपनका लागि पनि पार्किङ व्यवस्थित हुन जरुरी छ । सहरको विकासको सूचक व्यवस्थित पार्किङ पनि हो । पार्किङलाई व्यवस्थित बनाएर यातायात सेवाहरुलाई चुस्त बनाउन जरुरी छ । सहरका धेरै ठाउँमा पार्किङ ठूलो समस्याका रुपमा देखापरेको छ । पोखरालाई व्यवस्थित सहर बनाउने भन्नुको मतलब पार्किङ पनि व्यवस्थित गर्ने हो भनेर सहरको समग्र योजनामा यसलाई प्राथमिकताका साथ लैजान जरुरी छ । अचेल पार्किङ फ्री जस्तो भएको छ । तर त्यसले भद्रगोलमात्रै निम्त्याएको छ ।
सडकका पेटीपेटीमै जथाभावी पार्किङ गरिदिएर बटुवा वा पैदलयात्रुलाई सुखसँग हिँड्न पनि अप्ठेरो हुने गरेको छ । सहरमा किनमेल गर्न आउनेजानेहरुलाई पसलकै अघि पार्किङ हुनुपर्छ भन्ने मान्यता उपभोक्ता र व्यवसायीले त्याग्नुपर्छ । विश्वका हरेक सहरमा पनि मुख्य बजारमा पैदलै हिँड्ने र पार्किङ केही टाढा नै गर्ने चलन छ । तसर्थ उपभोक्ताले पनि आफ्ना आनीबानीमा सुधार ल्याउन सके पार्किङका दुखहरु कम हुन्छन् । मनासिब शुल्कका सशुल्क पार्किङहरुलाई प्रोत्साहन गर्न जरुरी छ । शुल्क तिर्न कठिन हुने वा त्यसैले ढाडसेक्नेचाहिँ हुनुहुँदैन । शुल्क व्यावहारिक बनाइयो भने तिर्नी कसैले अप्ठेरो मान्नुपर्दैन ।
तपाईको प्रतिक्रिया