देशभरका प्रज्ञा प्रतिष्ठान पोखरा आउने

समाधान संवाददाता २०८० साउन ८ गते १३:०५

पोखरा ।
नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तर्क्रिया हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार हुने कार्यक्रममा गण्डकीसहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानको प्रतिनिधित्व रहनेछ ।


गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बीचमा अनुभव आदानप्रदान तथा सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ । ‘यो साउन १२, १३ र १४ गते हुने ३ दिने कार्यक्रम हो; मुख्य कार्यक्रम १३ गते शनिबार हुनेछ । सो कार्यक्रममार्फत् एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छौं,’ सदस्य सचिव श्रेष्ठले भने ।


कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् । केही कार्यक्रम प्रतिष्ठानहरुबीच सहकार्य गरेर गर्दा प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत यो कार्यक्रमबाट बन्ने उनको विश्वास छ ।

Advertisement


गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले प्रदेशमा बनेका प्रतिष्ठान र संघका प्रतिष्ठानबीच सहकार्य हुँदा त्यसले वाङ्मयको विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘प्रदेश र संघका संघीयता आएपछि बनेका प्रतिष्ठानबीच सहकार्य भए राम्रो हुन्छ । सबैले काम गर्ने कला, साहित्य, संस्कृतिकै क्षेत्रमा हो ।’


यो आर्थिक वर्षमा गण्डकी सरकारले प्रतिष्ठानको बजेट कटौती गर्दा गतिविधि गर्न समस्या हुने उल्लेख गरे । गत वर्ष ३ करोड २८ लाख बजेट पाएको प्रतिष्ठानको बजेट यसपालि १ करोड ४८ लाख घटेको छ । कुलपति बिखर्ची भन्छन्, ‘हामीले प्रदेशमा शिष्टतापूर्वक पत्र बुझाएका छौं । मौखिक रुपमा सम्बोधनको कुरा त भएको छ, ठोस रुपमा केही आएको छैन ।’

Advertisement

यस्तै, स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाडौं तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा २ दिने फोटो प्रर्दशनी कार्यक्रमसमेत हुने भएको छ । यो प्रदर्शनी पोखरा सभागृहमा साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया