बाख्रापालकलाई पाेखरा महानगरकाे ४४ लाख अनुदान

पोखरा ।
पोखरा महानगरपालिकाले कृषकलाई रु.४४ लाखभन्दा बढी अनुदान दिएको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तर्गत महानगरका १ सय ९१ कृषकलाई ४४ लाख २० हजार अनुदान प्रदान गरिएको हो ।
प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित कार्यक्रममा अनुदान वितरण गरे । बाख्रापालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकलाई हौसला मिल्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे ।
‘महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ,’ प्रमुख आचार्यले भने, ‘महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ ।’ आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले सुनाए ।
तपाईहरु उत्पादनमा केन्द्रित हुनुहोस्, उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।
धनराज आचार्य
मेयर, पोखरा
कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आम कृषकलाई सुझाए । कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध उनको भनाइ छ ।
‘तपाईहरु उत्पादनमा केन्द्रित हुनुहोस्, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ,’ उनले भने । उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सृजना बन्न नदिने उनले आश्वासन दिए ।
पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रापालन व्यवसायतर्फ कृषकको आकर्षण बढेकोमा खुसी व्यक्त गरे । उन्नत जातका बाख्रापालनबाट कृषकले मनग्य लाभ लिइरहेको उनले जनाए । यसका सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजीकरणका लागि आफूहरू तयार रहेको लामिछानेको भनाइ छ । पोखरा महानगरपालिका वडा नं.२८ का पूर्व वडाध्यक्ष एवं कार्यपालिका सदस्य निर्मल दियालीले अनुदान रकम सदुपयोग गर्न आग्रह गरे ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको बताए । पछिल्लो समय पशुहरूमा देखिएको समस्याप्रति सचेत रहेको बताउँदै कडरियाले यसको रोकथाम र निदानका सम्भाव्य उपाय उपयोग गरिएको जनाए ।
भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे । कृषकको समस्या समाधानका लागि आफूहरू निरन्तर खोज तथा निदानका उपायको सहजीकरणमा लागिरहेको उनको भनाइ छ ।
सोमबार वडा नं. १९ का २४ जना कृषकलाई ६ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकलाई ७ लाख २० हजार, वडा नं.२१ का ४३ जनालाई १० लाख, वडा नं.२४ का ३७ जनालाई ८ लाख २० हजार, वडा नं.२५ का २३ जनालाई ४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १ सय ९१ जना कृषकलाई रु.४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले खुसी व्यक्त गरेका छन् । कृषकहरूका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा समेत उनीहरूले जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया