बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

समाधान संवाददाता २०८० साउन ९ गते १५:२०

पोखरा ।
बाँझो रहेको अर्काको जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले सोमबार नगद अनुदान वितरण गरेको छ । पालिकाको बाँझो जग्गा उपयोग अनुदान भुक्तानी कार्यविधि, २०७७ अन्तर्गत लामो समयसम्म बाँझो रहेको जग्गामा उत्पादन गर्ने वडा नम्बर ४ का ६ कृषकलाई नगद अनुदान वितरण गरेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।


अरुको बाँझो जग्गा भाडामा लिएर ३ रोपनी पाखोमा कोदो र ६ रोपनी खेतमा धान उत्पादन गर्ने आरुखर्कका कोमलप्रसाद पौडेलले २२ हजार ५ सय नगद अनुदान पाएका छन् । ९ रोपनी जग्गामा खेती गरेका पौडेल वडामा सबैभन्दा बढी नगद अनुदान पाउने किसान हुन् ।


२ रोपनी ८ आना र ४ रोपनी खेतमा धान उत्पादन गर्ने गैह्रापट्टीका गणेशबहादुर रोकाहा र हुमबहादुर पौडेलले क्रमशः ६ हजार २ सय ५० र १० हजार नगद अनुदान रकम पाएको अध्यक्ष सुवेदीले बताए । लप्सीबोटका टेकनाथ पौडेल २ रोपनी, बडाचौरका टंकराज पाध्या पौडेल ३ रोपनी ८ आना र राँपुका लेखनाथ पौडेलले २ रोपनी खेतमा धान उत्पादन गरेवापत क्रमशः ५ हजार, ८ हजार ७ सय ५० र ५ हजार रुपैयाँ नगद अनुदान पाएको पालिकाले जनाएको छ ।

Advertisement


यसअघि पालिकाले बाँझो रहेको अर्काको जग्गा भाडामा लिएर ३ रोपनी धान उत्पादन गर्ने फेदीखोला २ नौला खेतका दीपक खड्कालाई ७ हजार ५ सय र आफ्नै बाँझो रहेको खेतमा २ रोपनी कोदो उत्पादन गर्ने फेदीखोला २ बहाँटारीका वीरबहादुर खत्रीलाई ४ हजार रुपैयाँ अनुदान रकम वितरण गरिसकिएको छ ।

पालिकामा रहेका बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले फेदीखोला गाउँपालिकाको बाँझो जग्गा उपयोग अनुदान भुक्तानी कार्यविधि २०७७ पारित गरेको थियो । सोही कार्यविधि अनुसार पालिकाले लामो समयसम्म बाँझो रहेको जग्गामा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान वितरण गर्न थालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया