माझठानामा कृषि उपज संकलन केन्द्र

समाधान संवाददाता २०८० साउन ९ गते १५:२६

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । केन्द्र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुरुआत गरे ।


वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो । कृषि उपजको आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भर बनाउनका लागि उत्पादन वृद्धि आवश्यक रहेको प्रमुख आचार्यले जनाए । महानगरका ग्रामीण क्षेत्र उत्पादनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले स्वस्थ उत्पादनमा उनले जोड दिए । महानगरपालिका कृषकहरूको साथमा रहेको उनले विश्वास दिलाए ।


पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रमा भइरहेको उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषकलाई उत्पादनसँग जोडिन उनले आह्वानसमेत गरे ।

Advertisement


पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि उपजको बजार सुनिश्चिततासहित उपभोक्तालाई स्वस्थ तरकारी खुवाउने आफूहरूको लक्ष्य रहेको सुनाए । संकलन केन्द्रहरूको प्रभावकारिता ती केन्द्रमार्फत बजारमा पुग्ने स्वस्थ उत्पादनसँग जोडिने उनको भनाइ छ । प्रमख कडरियाले संकलन भएको कृषि उपज महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउने व्यवस्था मिलाइने जानकारी दिए ।


सो क्रममा कृषि औजारसमेत प्रदान गरिएको थियो । हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि संकलन केन्द्र सञ्चालनमा छन् भने ५ कृषि बजार महानगरपालिकाको तर्फबाट सञ्चालनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया