सक्रिय समाजसेवी राजेन्द्रकुमार श्रेष्ठ

विसं २०४१ सालमा स्थापना भएको सिद्धार्थ क्लब, पोखराले हालसम्म आइपुग्दा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका शिक्षा, स्वास्थ्य, बाल, महिला र वातावरण क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेर विभिन्न संघ, संस्थाहरुबाट सम्मान पत्रहरु प्राप्त गरेको छ ।
आव २०७९/८० सम्म यस संस्थामा २६ जनाले नेतृत्व प्रदान गरिसकेको छ । सबै अध्यक्षहरुको कुशल नेतृत्वमा धेरै राम्रा कार्यहरु गरी सिद्धार्थ क्लबको छवि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको छ । यसमध्ये आव ०५३/०५५ (दुई कार्यकाल) को अध्यक्ष भई क्लबको नेतृत्व गर्नुभएका राजेन्द्रकुमार श्रेष्ठको क्लबप्रतिको योगदान अमूल्य छ ।
सानै उमेरदेखि तीक्ष्ण बुद्धि, अध्ययनशील राजेन्द्र क्लबको स्थापनाताका कम उमेरका कारण सदस्यता लिन नपाएता पनि क्लबको हरेक क्रियाकलापमा सक्रिय रुपमा लागिरहे र सदस्यता लिएपश्चात निर्णायक भूमिकामा सहभागी भइरहनुभयो ।
सिद्धार्थ क्लबले शिक्षा, स्वास्थ्य, बाल, महिला, वातावरणबाहेक विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैसससँगको सहकार्यमा एचआइभी एडस, ग्राम विकास तथा अधिकारमुखी परियोजना सञ्चालन गर्यो । जसका लागि परियोजना निर्माण एवं दातृसंस्थाहरुसँगको समन्वयमा महत्वपूर्ण भूमिका निभाएका राजेन्द्रकुमार श्रेष्ठले केही वर्ष सिद्धार्थ क्लबको कार्यकारी अधिकृत भई क्लबको व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । विभिन्न तालिममा कुशल सहजकर्ताको भूमिका निभाएका राजेन्द्रकुमार श्रेष्ठले राष्ट्रिय स्तरका विभिन्न गोष्ठी, सेमिनारमा क्लबको तर्फबाट सहभागिता जनाउनुभयो ।
सिद्धार्थ क्लबद्धारा सञ्चालित एम्बुलेन्स तथा शववाहन लगायत विभिन्न विषयमा नीति निर्माण तथा क्लबको संशोधित विधानमा समेत महत्वपूर्ण योगदान दिएका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ स्पष्ट वक्ता निडर, निष्ठावान हुनुहुन्थ्यो । उहाँको असमायिक निधनले क्लबले एउटा नक्षत्र गुमाएको महसुस गरेको छ ।
राजेन्द्रकुमार श्रेष्ठको सिद्धार्थ क्लबको पूर्व अध्यक्षका अलवा बगालेटोल नेवाः गुठी, नेवा खल कास्की, क्यान कास्की, शुभसिद्धार्थ साकोस लगायत विभिन्न सामाजिक, धार्मिक संस्थामा आवद्धता थियो ।
मर्सानी सिद्धार्थ क्लबका पूर्वअध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया