कास्कीका ६१ उम्मेदवारलाई १५/१५ हजार जरिवाना

प्रमिला कुँवर २०८० साउन १० गते १३:२४

पोखरा ।
निर्वाचन आयोगले चुनाव खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ । त्यसमा कास्कीका पनि थुप्रै उम्मेदवार परेका छन् । देशभरबाट प्रतिनिधिसभा र प्रदेशतर्फका गरी २ हजार ४ सय ३५ उम्मेदवारलाई १५ हजार दरले आयोगले जरिवाना गरेको हो ।

Advertisement


उम्मेदवारहरूलाई आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो । तोकिएको समयभित्र खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका १ हजार ३७ जना र प्रदेशसभातर्फका १ हजार ३ सय ९८ उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम १५ हजार रूपैयाँका दरले जरिवाना गर्ने निर्णय आयोगले गरेको हो । खर्च विवरण नबुझाएकोमा आयोगले उम्मेदवारहरुलाई १५ हजार रुपैयाँका दरले जरिवाना तोकेको छ ।

३५ दिनभित्र राजस्व दाखिला गरी भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आदेश


जरिवाना तोकिएकोमा कास्कीबाट प्रतिनिधि सभा निर्वाचन लडेका २८ उम्मेदवार परेका छन् । कास्कीमा प्रतिनिधि सभा सदस्यका लागि ३ निर्वाचन क्षेत्र छन् । प्रदेश सभा निर्वाचन लडेका कास्कीका ३३ उम्मेदवार परेका छन् । जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न समेत आयोगले आदेश दिएको छ ।


जरिवानामा पर्नेमध्ये अधिकांश निर्वाचनमा पराजय भएका उम्मेदवार छन् । निर्वाचन जितेर जनप्रतिनिधि भएका नेकपा एमाले नेता गणेशमान गुरुङ पनि जरिवानामा परेका छन् । उनीबाहेक जनप्रतिनिधि भने जरिवानामा परेका छैनन् । गुरुङ कास्की ३ (१) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हुन् । उनले पराजित गरेका गठबन्धनबाट माओवादी उम्मेदवार बनेका दुर्गादत्त भण्डारी पनि जरिवानामा परेका छन् ।

Advertisement

एमालेबाट कास्की २ (२) की उम्मेदवार मीना गुरुङ पनि जरिवानाको सूचीमा छिन् । कास्की २ (२) मा राप्रपाका उम्मेदवार अरुण गिरीलाई पनि जरिवाना लागेको छ । त्यस्तै कास्की १ (२) मा कांग्रेस उम्मेदवार दीपक गुरुङ जरिवानामा परेका छन् ।


प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार भएका नेपाली कांग्रेस नेता महादेव गुरुङ पनि जरिवानामा परेका छन् । माओवादी नेता तथा कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेको नाम पनि जरिवानाको सूचीमा छ । गण्डकी प्रदेशभरबाट प्रतिनिधि सभाका उम्मेदवार १ सय ९६ मध्ये ४९ उम्मेदवारले खर्च सार्वजनिक गरेनन् । प्रदेश सभातर्फका २३५ मध्ये पनि ४९ जनैले खर्च सार्वजनिक नगरेको आयोगले जनाएको छ ।


आयोगले नेपाली कांग्रेसका गगन थापा, रमेश लेखक, विनोद चौधरीसहित २१ जनालाई जरिवाना गरेको छ । नेकपा एमालेका राजन भट्टराई, सर्वेन्द्र खनाल लगायत १८ जनालाई कारवाही गरेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठसहित ३९ जनालाई आयोगले जरिवाना गरेको हो । नेकपा माओवादी केन्द्रका १२ जनालाई जरिवाना गरेको छ । जसमा पम्फा भुसाल, महेन्द्र राय यादव, गिरिराजमणि पोखरेल लगायत परेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, स्वतन्त्र उम्मेदवार प्रभु साहलाई पनि १५ हजार जरिवाना गराउने निर्णय आयोगले गरेको छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया