भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण

पोखरा ।
चीनको हाङझावमा हुने १९ औं एसियाड अब २ महिनामात्रै बाँकी छ । दुई महिना बाँकी हुँदा छनोट भएका खेलाडी यति बेला बन्द प्रशिक्षणमा व्यस्त छन् । केही खेलाडी बन्द प्रशिक्षणका लागि पोखरामा प्रशिक्षणरत छ ।
गत शनिबारमात्रै भारोत्तोलनका खेलाडी पोखरा आईपुगेका छन् । उनीहरुलाई मंगलबार बिहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबहाक अध्यक्ष उमेश सिकेले स्वागत गरे । प्रमुख योगीले पोखरामा प्रशिक्षणको क्रममा कुनै अप्ठ्यारो तथा समस्या नहुने स्पष्ट पारे । उनले राष्ट्रिय खेलकुद परिषदले नै खेलाडीको प्रशिक्षण, आवास तथा खानपिनको अनुगमन गर्न निर्देशन गरेको बताए ।
एसियाडमा भारोत्तोलनका ४ खेलाडीले विभिन्न तौलमा प्रतिस्पर्धा गर्ने छन् । ५५ केजी तौलमा टीकामाया गुरुङ, ६४ केजी तौलमा सारदा चौधरी, ८१ केजी तौलमा विकास भट्ट र हेभीवेट ९६ केजीमा विशाल विष्ट छन् । उनीहरुसँगै भारोत्तोलनबाट ओलम्पिक तयारीमा रहेको सागर भण्डारीसमेत प्रशिक्षणमा संलग्न छन् । भण्डारीले १ सय ९ केजीमा प्रतिस्पर्धा गर्ने छन् ।
उनीहरुलाई जीवन गौतमले प्रशिक्षण दिइरहेका छन् । ‘एसियाड अब दुई महिनामात्रै बाँकी छ । २ महिना नै पोखरामा प्रशिक्षण गर्ने योजना हो,’ प्रशिक्षक गौतमले भने, ‘बीचमा परिषदले बोलायो भने फर्किन्छौं । थोरैमा पनि एक महिना पोखरामै प्रशिक्षण गर्छौ ।’ उनले पोखरामा प्रशिक्षण गराउँदा नयाँ उत्साह थपिने स्पष्ट पारे ।
‘सधै एकै ठाँउमा९काठमाडौंमा० प्रशिक्षण गराउँदा समस्या । त्यसमा पनि एसियाड खेल्ने र अन्य खेलाडी एकै ठाँउमा प्रशिक्षण गराउन कठिनाइ हुने आएकाले पनि नयाँ ठाँउमा आयौं,’ उनले भने, ‘शान्त बातावरणमा प्रशिक्षण गराउँदा खेलाडीमा पनि ऊर्जा मिल्छ । उत्साह थपिन्छ ।’
प्रशिक्षण गौतमले पोखरामा प्रशिक्षण गराउन आवश्यक भारोत्तोलनका सबै सामान भएकाले पनि सहज भएको जिकिर गरे । परिषदले असार मसान्तसम्म ९ सय रुपैयाँ दैनिक भत्ता दिने गरेको थियो । दैनिक भत्ताले काठमाडौंमा प्रशिक्षण गराउनसमेत कठिन थियो । पोखरा आइसकेपछि दैनिक भत्ता परिषदले बढाईदिएको छ । खेलाडीलाई प्रशिक्षणसँगै आवश्यक खानपिनमा विशेष ध्यान दिइएको प्रशिक्षक गौतमले सुनाए ।
पोखरामा केही दिनअघि मात्रै महिला ह्याण्डबल टोली प्रशिक्षणका लागि आइपुगेको थियो । झण्डै २ सातादेखि रग्बीको महिला तथा पुरुष एवं यु २० टोलीसमेत पोखरामा प्रशिक्षणरत छ । आर्चरीको पनि पोखरामै प्रशिक्षणमा चलिरहेको छ । पोखरामा भएको बन्द प्रशिक्षण अनुगमन गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ फर्किएका छन् ।
तपाईको प्रतिक्रिया