डेंगु सर्छ कि सर्दैन ?

डा. शेरबहादुर पुन २०८० साउन ११ गते १२:११

प्रत्येक डेंगु संक्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु– घरमा अरू संक्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा’साब ?’

Advertisement


दुई वर्षभन्दा बढी हामी कोभिडको समस्यासँग जुध्दै आइपुग्दा ‘कोभिड ह्यङ’ अझै गइसकेको छैन । अझै पनि धेरै नेपाली डेंगु भाइरस कोभिड जस्तै नजिकै बस्दा सर्छ कि भन्ने प्रभाव परेको देखिन्छ । एक महिलाले लेखकलाई आफूलाई एक आफन्तले भेटेको र त्यसको भोलिपल्ट आफूलाई अचानक ज्वरो आएको र पछि बुझ्दा सो आफन्त ज्वरो आएर स्वास्थलाभ गरिरहेको भनेका थिए । र सो महिला सो आफन्तबाट नै डेंगु सरेको हुन सक्ने विश्वास गरेका थिए ।


वास्तवमा, यो सरुवा रोग हो तर मानिसबाट मानिसमा सर्ने भने होइन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टे सङ्क्रमित हुन पुग्दछ र ८–१२ दिनपछि अरूलाई भाइरस सार्न सक्षम हुन्छ । तर लामखुट्टे पहिले नै संक्रमित रहेछ भने सो अवधि पूरा गरिसकेको हो भने टोक्दै जाँदा भाइरस पनि सर्दै जाने हुन्छ । बिरामी भएको लगभग १ हप्तासम्म संक्रमितको शरीरमा भाइरस हुने र सो समयमा लामखुट्टे टोके सो लामखुट्टे सङ्क्रमित हुन जान्छ र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोक्दा सङ्क्रमण सर्दै जाने हो ।

लामखुट्टेले डेंगु सार्ने भएकाले यो सरुवा रोग हो तर मानिसबाट मानिसमा भने कोभिडमा झैं सर्ने रोग होइन ।


डेंगु नेपालभरि फैलिएको भनिएता पनि त्यो काठमाडौँबाट आयातीतमात्र भएको पनि हुन सक्छ । किनभने सामान्यतया कुनै पनि ठाउँमा डेंगु फैलिएको छ भन्नको लागि डेंगु फैलाउने/सार्ने लामखुट्टे पनि अनिवार्य उपस्थिति हुनुपर्दछ । नेपाली दसैँ दसैं जस्ता चाडपर्वमा काठमाडौँबाट आ–आफ्ना घर फर्कने गर्छन् ।

Advertisement

काठमाडौँमा डेंगुले महामारीको रूप लिइसकेको र भर्खरै सङ्क्रमित भएकाहरू पनि चाडपर्व वा अरु कारणले घर फर्कन सक्छन् । यदि सङ्क्रमित फर्कने गाउँ ठाउँमा स्थानीय रूपमा एडिस जातको लामखुट्टे रहेछ भने पहिले ती लामखुट्टे सङ्क्रमित हुने र त्यसपछिको झन्डै एक हप्ता पछि डेंगु फैलन सुरु हुन सक्ने जोखिम रहन्छ ।


तसर्थ स्थानीय प्रशासन वा सक्रिय युवाले आफ्नो क्षेत्रमा डेंगु नफैलियोस् भन्नका लागि लामखुट्टे नष्ट गर्ने विशेष अभियान चलाउँदा उत्तम हुन्छ । अहिले नै त्यहाँ लामखुट्टेका लार्भाहरू रहेछ भने नष्ट गर्न ढिलाइ गर्नु हुँदैन । काठमाडौँमा यही गल्ती गर्दा वा चासो नदिँदा हाल डेंगुको समस्या नियन्त्रणभन्दा बाहिर गएको थियो ।


हाल परिवारमा एकपछि अर्को सदस्य डेंगु सङ्क्रमित हुने क्रम व्यापक छ । त्यतिमात्र होइन विद्यालय/कलेज, व्यापारिक केन्द्र, कार्यालय, अस्पताल आदि ठाउँमा एकै पटक धेरै जना सङ्क्रमित हुने क्रम जारी छ । पछिल्लो समय विद्यार्थी एकपछि अर्को सङ्क्रमित हुने क्रम पनि बढ्दो छ । कलकारखाना काम गर्नेहरू दैनिक डेंगुबाट सङ्क्रमित हुने गरेको स्वयम् त्यहाँ कार्यरत बिरामी बताउने गर्दछन् ।


सामूहिक वा छोटो समयमा एकपछि अर्को सङ्क्रमित वा बिरामी हुँदा धेरै लाई कोभिड जस्तो सहजै सर्ने हो कि भन्ने विश्वास गरेको देखिन्छ । डेंगु खोकेर वा नजिकै बसेर वा हावाबाट सर्ने नभई विद्यालय/कलेज, व्यापारिक केन्द्र, कार्यालय, अस्पताल आधी ठाउँमा सङ्क्रमित लामखुट्टेको व्यापक प्रवेश भइसकेकाले परिस्थिति अनियन्त्रित हुँदै गएको हो । केही महिना अगाडि लामखुट्टे प्रजनन/लार्भा लाई नष्ट गर्ने जाँगर देखाएको भए अहिलेको अवस्था आउने नै थिएन ।


हालै ‘लामखुट्टे खोज र नष्ट’ गर्ने भनेर निर्णय गरेको देखिन्छ यद्यपि यसले व्यापकता भने अझै पाउन सकेको देखिँदैन । यो निर्णय आफैंमा नराम्रो नदेखिए पनि तत्काल गर्नुपर्ने पहिलो काम भनेको विद्यालय/कलेज, व्यापारिक केन्द्र, कार्यालय, अस्पताल आदि ठाउँमा लामखुट्टे नष्ट गर्नुपर्ने हुन्छ । यसबाट हाल व्यापकता पाएको लामखुट्टेको संख्या न्यूनीकरण गर्न सकिने छ । लामखुट्टे न्यूनीकरण गर्नु भनेको डेंगु न्यूनीकरण गर्नु हो । डेंगु एकपछि अर्कोमा देखिने चेन ब्रेक गर्न लामखुट्टेको चेन ब्रेक गर्न अनिवार्य नै हुन्छ ।


अन्तमा, जति जति सङ्क्रमित बढ्छ, त्यति त्यति लामखुट्टे संक्रमित हुने मौका पाउनेछ । र जति जति संक्रमित लामखुट्टेको संख्या बढ्दै जानेछ थप मानिसहरू सङ्क्रमित हुने क्रम पनि बढ्दै जानेछ । लामखुट्टेले डेंगु सार्ने भएकाले यो सरुवा रोग हो तर मानिसबाट मानिसमा भने कोभिडमा झैं सर्ने रोग भने होइन । डेंगु लाग्न वा फैलन लामखुट्टेको उपस्थिति अनिवार्य नै हुन्छ ।

डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

तपाईको प्रतिक्रिया