तस्बिरमा किल्ला र गढीहरु

पोखरा ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामरिक हिसाबले महत्वपूर्ण नेपाल तथा भारतका किल्ला तथा गढीहरुको फोटो प्रदर्शनी बुधबारदेखि पोखरा सभागृहमा सुरु भएको छ ।
भारतीय राजदुतावास, स्वामी विवेकानन्द कल्चर सेन्टर काठमाडौं, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल भारत मैत्री संघ कास्की र रोटरी क्लब पोखराको आयोजनामा भएको २ दिने प्रदर्शनी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुआत गरे ।
मुख्यमन्त्री पाण्डेले नेपाल र भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई कसैले तोड्न नसक्ने बताए । उनले दुबै देशको धेरै संस्कृति र इतिहास समान भएको उल्लेख गरे । ‘नेपाल भारतको सम्बन्ध राजनीतिक तथा कर्मचारी तहमा कहिले काँही खटपट हुन सक्छ,’ उनले भने, ‘इतिहास र सांस्कृतिक रुपमा हामी एक आपसमा बाँधिएका छौं । यसलाई कसैले तोड्न सक्दैन ।’
उनले नेपालका २२ से तथा २४ से राज्यले किल्लामा बसेर राष्ट्रको सुरक्षा गरेको बताए । स्वामी विवेकानन्द कल्चर सेन्टर काठमाडौंका निर्देशक डा अस्वरी बापटले नेपाल तथा भारतका किल्लाहरुको फोटो प्रदर्शनीको ऐतिहासिक सांस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण भएको बताइन् । उनले शिवाजी महाराजको अगुवाईमा धार्मिक तथा सांस्कतिक गतिविधि भएको उल्लेख गरिन् ।
गण्डकी विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङले फोटो प्रदर्शनीले विगतको इतिहासमा समेत कला तथा आर्किटेक्चर इन्जिनियरिङको विकास भएको पाइएको बताए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का ‘बिखर्ची’, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, रोटरी क्लब अफ पोखरा अध्यक्ष कपिलकिरण श्रेष्ठ, पूर्व अध्यक्ष मीनु श्रेष्ठ कुँवरले फोटो प्रदर्शनीले नेपाल तथा भारतका किल्लाहरुको बारेमा गहन रुपमा बुझ्न सघाएको बताए ।
तपाईको प्रतिक्रिया