नेपाली जुत्ता घर बन्द

समाधान संवाददाता २०८० साउन ११ गते १६:०५

पोखरा ।
पोखराको सिर्जनाचोकमा हालै खुलेको पोखरा फुटवेयर बिजनेस सेन्टर बन्द भएको छ । नेपाली जुत्ता घर नाम दिएर १० जुत्ता उत्पादक कम्पनीले खोलेको सेन्टर मंगलबार पोखरा महानगरले बन्द गराएको हो ।


पोखरा महानगरका नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाले व्यवसाय इजाजत नलिई सञ्चालन भएकाले सो रुम बन्द गराइएको जानकारी दिए । उनी भन्छन्, ‘व्यवसाय इजाजत नलिई चलेकाले आज बन्द गराएका हौं । स्थानीय सरकारबाट इजाजत लिएपछि उहाँहरुले फेरि व्यवसाय खोल्न सक्नुहुन्छ ।’


नगर प्रहरी इन्चार्ज थापा महानगरभरी व्यवसाय दर्ता नभएकालाई दर्ता गराउन र दर्ता भएकालाई नवीकरण गराउन आग्रह गर्दै अनुगमन भइरहेको बताउँछन् । गत शुक्रबाटबाट गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले सोरुम उद्घाटन गरेका थिए ।

Advertisement


नेपाल जुत्ता घर सञ्चालनमा आएको घरको नक्सापाससमेत छैन । केही दिनअघि जुत्ता व्यवसायी संघ कास्कीले रुद्र न्यौपानेको समूहले सोरुमको नाममा जुत्ता सेल मेला गर्न खोजिएको भन्दै आपत्ति जनाएको थियो । १० सोरुम भनिए पनि नेपाल जुत्त घरभित्र पार्टेसन छैन । सबै एउटै पसल जस्तो देखिन्छ ।


शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सनका जुत्ताका फरक फरक सोरुम त्यहाँ रहेको सञ्चालकको दाबी छ । सेन्टरमा करिब १ करोड रुपैयाँ लगानी भएको रन सुजका बजार व्यवस्थापक सीताराम नेपाल बताउँछन् । एउटा सोरुम वडा कार्यालयमा दर्ता भइसकेको र बाँकी सोरुमहरु दर्ता प्रक्रियामा हुँदा महानगरले बलजफ्ती पूरै भवन बन्द गराएको उनको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया