सम्पादकीयः रक्त सञ्चार सेवाको गुणस्तर

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार रगत अभाव हुन नदिन मुलुकको कुल जनसंख्याको बढीमा २ प्रतिशतले प्रत्येक वर्ष रक्तदान गर्नुपर्छ । जनसंख्याको त्यति प्रतिशतले रक्तदान गर्ने हो भने कहिल्यै रगत अभाव हुदैन । नेपालमा मोटामोटी शुन्य दशलमब ८ प्रतिशतले रक्तदान गर्छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा वार्षिक ३३ हजार युनिट भन्दा बढी रगत संकलन गरी रक्त सञ्चार सेवा प्रदान गरिन्छ ।
नेपालमा ४ लाख ५० हजारदेखि ५ लाख युनिटसम्म रगत संकलन हुन्छ । नेपालमा रगत संकलन, भण्डारण र आपुर्तीको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाइटीले राजधानी काठमाडाैं, ५ प्रदेश, २६ जिल्ला अस्पताल गरी १ सय २० केन्द्रबाट रक्त सेवा प्रदान गरेको छ । पोखरा काठमाडौं चितवनको तुलनामा तराईमा रगत संकलन निकै कमी भएकोले त्यता कार्यक्रम केन्द्रीत गर्नु पर्ने देखिन्छ ।
नेपालमा २०२३ साल साउन १२ गतेदेखि रक्तदान कार्यको सुरुवात भएको हो । सुरुवातको दिनमा देश भरीमा १ सय ५७ युनिट संकलन भएको थियो । सो दिनलाई रक्त सञ्चार सेवा दिवसको रुपमा मनाइएको छ । ५८ औं सो दिवस मनाइरहँदा बाढी, पहिरो लगायत विपद् जन्य प्रकोप, सवारी दुर्घटना, अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन लगायतका कारणले पहिलेको तुलनामा अहिले रगतको माग बढेको छ । त्यसतर्फ सरोकारवाला निकायले ध्यान दिनु पर्ने देखिन्छ ।
नियमित रुपमा रक्तदान गर्ने व्यक्ति तथा संस्थालाई प्रेरणा दिएर रक्तदाताको संख्या बढाउनु पर्छ । नयाँ नयाँ व्यक्ति तथा संस्थालाई वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्न प्रेरित गर्न सके रगत अभाव हुँदैन । रक्तदातामाझ रगतको महत्वबारे सचेतना फैलाउनेदेखि स्वयंसेवी रक्तदाताको संख्या बढाउनु पर्छ । तवमात्र रगतको बजार मागलाई पुरा गर्न सकिन्छ । रक्तदातालाई रक्तदानको महत्वका बारेमा सचेतनामुलक कार्यक्रममा जोड दिनु पर्छ ।
आर्थिक वर्ष २०७८/०७९ देखि गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश भित्र रगत तथा रक्ततत्व निशुल्क गर्ने घोषणा गरेको छ । जस अनुसार २०७८ फागुन १ गतेबाट कार्यान्वयन ल्याएको छ । रगत संकलन, बिरामीसम्म सुरक्षित प्रदानको लागि विभिन्न परिक्षणहरु गर्ने, रगतको आवश्यक चिस्यानको व्यवस्थापन, फ्रिजहरु कोल्ड रुमहरुको व्यवस्थापन, बत्ती/पानीको व्यवस्थापन, ब्लड व्याग खरिद, विभिन्न टेस्ट किट र रियजेन्टहरु खरिद गरी समय सापेक्ष गुणस्तर व्यवस्थापन गर्नु निकै खर्चिलो थियो । सरकारी निकायको समन्वय र सहकार्यले रक्त सञ्चार सेवालाई केहि हदसम्म सहज र प्रभावकारी बनाउन सहयोग पुगेको छ ।
सरकारले आवश्यक नीति नियम, र कानुन बनाएर अनुगमन र मूल्यांकनको व्यवस्था गरी रक्तसंचार सेवालाई अरु सहज बनाउन सहयोग पुर्याउनु पर्छ । तीन तहको सरकार र रेडक्रसको साझेदारीमा रक्तसंचार सेवालाई गुणस्तरीय र अत्याधुनिक बनाउन सके धेरै भन्दा धेरै नागरिक लभान्वित हुने छन् । त्यसको सुरुवात कास्की रेडक्रस तथा गण्डकी प्रदेश सरकारको सहकार्यबाट भएको छ ।
तपाईको प्रतिक्रिया