रक्तदान गरौं, जीवन बाँडौं

समाधान संवाददाता २०८० साउन १२ गते १२:२७

मानव शरीरमा रहेको रातो एवं संवेदनशील पदार्थ हो रगत । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरुसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्‍याउने काम गर्दछ । रगतले कार्बन डाइक्साइड, युरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वलाई बाहिर निष्कासन गर्नसमेत सहयोग गर्दछ । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत हुन्छ भने बिशेषगरी स्वस्थ मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ ।

Advertisement


रक्त समूह
रगतलाई सामान्यतया ८ समूहमा विभाजन गरिएको हुन्छ । ए, बी, एबी, ओ पोजिटिभ र ए, बी, एबी, ओ नेगेटिभ । आपतकालीन अवस्थामा ओ नेगेटिभ समूहको रगत अन्य समूहको रगत भएकालाई दिन सकिन्छ । त्यसैले ओ नेगेटिभ समूहलाई युनिभर्सल डोनर भनिन्छ । एबी रक्त समूह भएकाहरुले भने अन्य रक्त समूह भएकाको रगत लिन मिल्छ । त्यसैले एबी समूहलाई युनिभर्सल रेसिपिएन्ट भनिन्छ ।


सैद्धान्तिक रुपमा यसो भनिए पनि रक्त समूह मिलाएरैमात्र रगत लिनु उत्तम हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत हुन्छ । मानिस जीवित रहनका लागि रगत नभई नहुने पदार्थ हो ।


रक्तदान
विश्वमा विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम रुपमा रगत बनाउने सूत्र आजका दिनसम्म फेला परिसकेको छैन । जब रगत आवश्यक हुन्छ; मानवले नै मानवलाई दिनुपर्छ । वास्तवमा रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्बन डाइअक्साइड, युरिया जस्ता विकार ओसारपोसार गर्छ । रगतको रातो रक्त कणले अक्सिजन तथा कार्बन डाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ ।


‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने कुरा साच्चिकै सत्य हो । कुनै हस्पिटल को शैयामा रगतको अभावले कुनै पनि व्यक्तिको मृत्यु हुनु हुँदैन । र उक्त मृत्यु रोक्नका लागि रक्तदान गर्नुपर्ने हुन्छ । रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनु जरुरी छ, ताकि रगत लिनेलाई कुनै प्रकारको रोग नलागोस् । दान गरिने रगतमा जीवाणु, परजीवी, औषधी तथा कुनै पनि प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन । रक्तदान गर्नुअगाडि रक्तदाताको स्वास्थ्य परीक्षण गरिने भए पनि हाम्रो सन्दर्भमा प्रायः परीक्षण विस्तारमा गरिएको हुँदैन । रक्तदान पुण्य दान हो । यो दान वास्तवमा महादान पनि हो ।

Advertisement


रक्तदान कसले गर्ने ?
रक्तदान गर्नुपूर्व मानसिक रुपमा अब म रगत दान गर्दै छु भनी योजना बनाउनु पर्छ । सँगसँगै रगत दान गर्नुअघि केही कुरामा भने ध्यान पुर्‍याउनुपर्छ । ७० केजी वजन भएका व्यक्तिले लगभग ५ सय मिलिलिटर रक्तदान गर्न मिल्ने भए पनि नेपालमा ३ सय ५० मिलिलिटरमात्रै रगत निकाल्ने गरिन्छ । हाम्रो शरीरमा औसत ५ लिटर रगत हुन्छ । तर, नेपालीको वजन कम हुने हुँदा रगतको मात्रा पनि कम हुन्छ ।

शरीरको वजन अनुसार प्रतिकेजी ७० मिलिलिटरका दरले रगतको मात्रा पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ रक्तदाताले प्रत्येक ५६ दिनमा रक्तदान गर्न मिल्छ । तथापि प्रत्येक ३ महिनामा रक्तदान गर्नु उपयुक्त हुन्छ । दान गरिएको रगत ३५ दिनसम्म काम लाग्ने भएकाले रगत आवश्यक पर्ने धेरै बिरामीलाई यो काम आउँछ । जीवनसमेत बचाउन सकिन्छ ।


रक्तदान गर्नुअघि निम्न कुरामा ध्यान दिनु पर्दछः
–स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक भएको व्यक्तिले रक्तदान गर्न सक्छ ।
–कम्तीमा १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी। एड्स जस्ता रोग नलागेको स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् ।
-रक्तदान गर्न चाहने व्यक्तिको शरीरको तापक्रम ९९.५ डिग्री फरनाहाइटभन्दा कम र मुटुको चाल ६० देखि १०० को बिचमा हुनु आवश्यक छ ।
–रक्तदान गर्ने व्यक्तिको रक्तचाप सिस्टोलिक ९० देखि १८० को बिचमा र डायास्टोलिक ७०÷११० एमएमएचजीदेखि १०० प्रति मिनेटको बिचमा हुनुपर्छ ।
–रजस्वला भएको ७ दिन र सुत्केरी भएको ६ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।
रक्तदान कसले नगर्ने ?
औषधि सेवन
– ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था ।
– आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइड जस्ता डन्डिफोर तथा पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने औषधिको अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था ।
– पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था ।
– एस्पिरिन खाइरहेकाहरुले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खंदा वेश ।
– हेपारिन, वार्फारिन जस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरुले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा ७ दिनपछि मात्र रक्तदान गर्नु पर्छ ।
– टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरुले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ ।
– ग्रोथ हर्मोन लिएकाहरुले रक्तदान गर्नु हुँदैन ।
– सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरुले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन । एसिट्रेटिन औषधि लिइरहेकाहरुले पनि औषधि छोडेको ३ वर्षसम्म रक्तदान गर्नु हुँदैन ।
– छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल औषधि लिइरहेकाहरुले औषधि छोडेको ७ महिना नपुगेको अवस्था ।
– प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरुले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन ।
खोप
– दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको ४ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।
– हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा नआएका तर हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरुले ३ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।
– हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन लगाएकाहरुले १ वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन ।
स्वास्थ्य अवस्था
– प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलव ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाले रक्तदान गर्नु हुँदैन ।
– गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।
– हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन ।
– तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको ३ वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको १ वर्षसम्म रक्तदान गर्नु हुँदैन ।
– रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरुले रक्तदान गर्नु हुँदैन ।
– हेमोक्रोमेटोसिस नामक रोग भएकाहरुले रक्तदान गर्नु हुँदैन ।
– रक्तनलीबाट लागुपदार्थ सेवन गर्नेहरुले रक्तदान गर्नु हुँदैन ।
– रगत तथा ग्रन्थीको क्यान्सर भएकाहरुले रक्तदान गर्नु हुँदैन । पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरुले पनि १ वर्षपछि मात्र रक्तदान गर्न सक्छन् ।
रक्तदान गरेपछि अपनाउनुपर्ने सतर्कता
५–२० मिनेट आराम गर्नुपर्छ ।
कहिलेकाहीँ रक्तदान गरेपछि रिंगटा लाग्न सक्छ, होस गुम्न सक्छ । यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन ।
कोल्टे फर्केर आराम गर्नुपर्छ । गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ ।
जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रशस्त पिउनुपर्छ ।


बिशेषगरी अधिक रक्तस्रावका बिरामीहरु, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेका व्यत्तिलाई रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्युकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया र रक्तअल्पता जस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ । र यस्तो समयमा हामीले गरेको सानो सहयोगले यस्ता कयौं मानिसको अमूल्य जीवन बच्न सक्छ ।


कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने एउटा स्वास्थ शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएलमात्रै हो । त्यस कारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै हामीले दान गर्न सक्छौं ।


रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेका छन् । तसर्थ रक्तदान गरेर कुनै अस्पताल को शैयामा छटपटाई रहेको बिरामी व्यक्तिलाई बचाउनुनै सबैभन्दा ठूलो महादान हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि ३ महिनामा त खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरे जस्तो पुण्यको काम अरु केही हुँदैन ।


हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् ? कुनै बेला हामी आफैंलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अमूल्य दान गरौं । एक जना व्यक्तिले दान गरेको रगतबाट हाल ३ वटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकाले रक्तदानलाई जीवन दानसमेत भन्ने गरिन्छ । तसर्थ उक्त माहान कार्य जब जीवनको १७ औं वसन्त पार गरी १८ औं जन्मदिन रक्तदान गरी मनाउन आम युवा जगतलाई हार्दिक आह्वान गर्दछौं ।


भण्डारी नेपाल रेडक्रस सोसाइटी कास्की सदस्य हुन् ।

तपाईको प्रतिक्रिया