खुल्ला चिडियाखानालाई ‘हाइकिङ’सँग जोडिँदै

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन १२ गते १५:५१

गण्डकी ।
७ तालको बगैँचा सहर लेखनाथमा रहेको खुला चिडियाखाना(पचभैया प्राणि उद्यान केन्द्र)लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने नाराका साथ ३ वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू टावरसम्म १ दिने हाइकिङ स्थलका रूपमा अघि बढाउन खोजेको हो ।

Advertisement


क्लबले हाइकिङमार्फत खुल्ला चिडियाखानालाई जोड्ने लक्ष्यका साथ आफ्नै ३६ औं शृंखला उक्त क्षेत्रमा सम्पन्न गरिसकेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए । प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आइएको हाइकिङको पछिल्लो शृङ्खला पचभैयास्थित खुल्ला चिडियाखाना हुँदै रुपा गाउँपालिकाको हात्तीमैतासम्म पुगी गरिएको थियो । पचभैयाबाट सुरु हुने हाइकिङ रुपाताल, झोलुंगे पुल, भंगारा, जनकुना, रुपाकोट रिपोर्ट हुँदै हात्तीमैता भ्यू टावरमा पुग्न करिब ३ घण्टा लाग्छ ।


‘हाइकिङमा आउने पर्यटकले खुल्ला चिडियाखानाको अवलोकन गर्दै आफ्नो यात्रा सुरु गर्ने छन्, हाइकिङका क्रममा अन्नपूर्ण, धवलागिरि लगायतका हिम शृङ्खला, मनोरम पहाडी दृश्य एवं लेखनाथका रुपा, बेगनाससहित पोखराको फेवाताल लगायतलाई एकसाथ नियाल्दै हिँड्न पाइनु यहाँको विशेषता हो’, उनले भने । हाइकिङ सुरु हुनेस्थल खुला चिडियाखाना यहाँको महत्वपूर्ण दर्शनीय स्थल रहेको संयोजक रानाभाटको भनाइ छ ।

Advertisement


बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर खुला चिडियाखानाका रूपमा पोखरा प्राणी उद्यान केन्द्र निर्माण गरिएको पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समिति अध्यक्ष दीनानाथ ढकालले सुनाए ।


चिडियाखाना निर्माणका लागि स्थानीयको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको १ सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो । चिडियाखानाको व्यवस्थापन लगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ ।

Advertisement


चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुला छाडिएको छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ ।


चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा ४ सय ५० प्रजातिका जीवजन्तु तथा ३ सय ६१ प्रजातिका वनस्पति, १ सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् ।रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जंगल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छ ।


पोखराबाट २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोच राखिएको पचभैया सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष मोहनबहादुर घिमिरेले बताए । यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जंगल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयले तत्कालीन समयदेखि नै यसको संरक्षण सुरु गरेका थिए । संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुला चिडियाखानाका रूपमा केन्द्र सञ्चालनमा आउनुले आफूहरू गौरवान्वित बनेको उनले सुनाए ।


चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुंगी राखिएको अध्यक्ष ढकालले जानकारी दिए । यहाँ आउने पर्यटकले चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिंगर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । चिडियाखाना सर्वसाधाररणलाई अवलोकनका लागि खुला गरिसकिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।


चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको कार्यालय प्रमुख केदार बरालले जानकारी दिए । अघिल्लो वर्षमा चिडियाखानका लागि भौतिक पूर्वाधारतर्फ ४० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिँदै उनले अन्य व्यवस्थापनतर्फ १८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको जनाए । त्यहाँ राखिएका पशुपन्छीको आहाराका लागि १४ लाख ६० हजार रुपैयाँ विनियोजन भएको थियो । चिडियाखानाको व्यवस्थापनका लागि ४ कर्मचारी खटाइएको छ ।


पचभैयाबाट रुपाकोट हात्तीमैतासम्म १ दिने हाइकिङका लागि उपयुक्त रहेको ध्रुवतारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसी बताउँछन् । हाइकिङमार्फत् हात्तीमैतासम्म आउने पर्यटकलाई लक्षित गरी हात्तीमैता भ्यू टावर रिसोर्ट सञ्चालनमा आइसकेको छ । ‘हामी पचभैयाको चिडियाखानादेखि हात्तीमैतासम्मको हाइकिङ मार्गलाई प्रवद्र्धन गर्न चाहन्छौं’, उनले भने, ‘छोटो दूरीको हाइकिङका क्रममा चिडियाखानामा विभिन्न वन्यजन्तुको अवलोनसँगै हिमाल, पहाड, तालतलैया आदिको एकसाथ हेर्न पाउने यहाँको विशिष्टता प्रचारप्रसारको पर्खाइमा छ ।’

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया