लामेआहालमा अवरोध, उठेन फोहोर

समाधान संवाददाता २०८० साउन १३ गते १७:१२

पोखरा ।

लामेआहालमा फोहार फाल्न स्थानीयले पोखरा महानगरपालिकालाई अवरोध गरेका छन् । महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् । त्यससँगै पोखरा महानगरपालिकामा २ दिनदेखि फोहोर उठेको छैन । महानगरको बजार क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर बिहीबारदेखि नउठेको हो ।


लामेआहालका स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि बिहीबारदेखि फोहोर नउठेको महानगरपालिकाकी सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् । ‘हामीले राम्रै व्यवस्थापन गरेका थियौं, उहाँहरुले (स्थानीय) ले अझै व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गर्ने भनेर अवरोध गर्नुभएको छ । अहिले छलफलमै छौं,’ बरालले भनिन्, ‘छलफलपछि केही दिनमा फोहोर उठ्छ ।’

Advertisement


लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नुपरेको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।


महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेकाले फोहोर फाल्न अवरोध गरेको स्थानीय भवानीप्रसाद पौडेलले बताए । ‘महानगरले जति फोहोर ल्याइन्छ, त्यति नै मात्रा फोहोर ल्याएर हाल्ने, व्यवस्थित ढंगबाट फाहोर व्यवस्थापन गर्ने भनेर ६ महिनाका लागि फोहार फाल्न दिएका हौं,’ उनले भने, ‘अहिले महानगरपालिकाले एक प्रतिशतपनि सम्झौता कार्यान्वयन गरेन । अव्यवस्थित ढंगले फोहोर फाल्ने, दुर्गन्ध फैलाउने काम ग¥यो । त्यसकारण हामीले फोहोर फाल्न अवरोध गरेका हौं ।’
अब उक्त ठाउँमा फोहोर फाल्न नदिने स्थानीय पौडेलले सुनाए । हामीले महानगरलाई अप्ठेरो परेको छ भनेर ६ महिनाका लागि फोहोर फाल्न दिएका हौं, अब ६ महिना पुग्न केही दिनमात्रै बाँकी छ, अब हामी यो ठाउँमा फोहोर फाल्न दिँदैनौं,’ उनले भने ।

Advertisement


अहिले फोहोर व्यवस्थापन भइरहेको लामेआहाल क्षेत्रका स्थानीयसँग गरिएका सबै प्रतिबद्धता पूरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । डेंगुको महामारी बढिरहेको अवस्थामा फोहोर व्यवस्थापनमा अवरोध नगर्नसमेत मेयर आचार्यले आग्रह गरे ।

यसअघि स्थानीयले साउन १ गते मेयर धनराज आचार्यलाई सम्झौता कार्यान्वयन गराउन पत्र बुझाउँदै १५ दिनभित्र सम्झौता पुरा नगरे पोखरा महानगरपालिकालाई फोहोर फाल्न नदिने चेतावनी दिएका थिए ।
पोखरा महानगरले वडा नम्बर ३३ को पुँडीटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्यान्डफिल साइट बनाउन निर्णय गरिसकेको छ । झाँक्रीखोला, देब्रेखोला क्षेत्रमा जग्गा प्राप्तिपछि फोहोर व्यवस्थापन हुने पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

प्रशोधन केन्द्र बनाउन ग्लोबल टेन्डर


पोखरा, १२ साउन (समाधान)— पोखरा महानगरले ल्यान्डफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउने भएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय टेन्डर भइसकेको छ । मेयर धनराज आचार्यले जग्गा प्राप्ति अन्तम चरणमा रहेको र चाँडै आधुनिक फोहोर प्रशोधन केन्द्र बन्ने जानकारी दिए । ‘ग्लोबल टेन्डर गरी त्यसमा ५ कम्पनीमध्ये ३ कम्पनी छानिएका छन् । हामी आरएफटी माग्ने चरणमा छौं । चार–अर्ब लगानी हुने खालका प्रस्ताव आएका छन्,’ मेयर आचार्यले भने ।


निर्माण कम्पनी छनोट भएपछि एक वर्ष हाराहारीमा प्रशोधन केन्द्र बन्ने मेयर आचार्यले सुनाए । महानगरले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडेलमा प्रशोधन केन्द्र बनाउन लागेको हो । झाँक्रीखोला, देब्रेखोला क्षेत्रमा व्यक्तिको ९६ रोपनी र बाँकी सार्वजनिक जग्गामा केन्द्र बनाउने तय भइसकेको छ । जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय भई मुआब्जा वितरणका लागि ३५ दिने सूचना जारी हुने तयारी भएको प्रमुख आचार्यले जानकारी दिए ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरण्मा समस्या भएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलबाट सारेर अस्थायी रुपमा पोखरा महानगरपालिका ३२, लामेआहालको सेती नदी किनारमा फोहोर फाल्न थालिएको थियो । गत २ दिनदेखि फोहोर नउठेसँगै पोखराका बजार क्षेत्रमा दुर्गन्धित बनेको छ । सडक छेउमा थुप्रिएको फोहोरले बजार क्षेत्रनै दुर्गन्धित बनाएको हो ।

तपाईको प्रतिक्रिया