अचाक्ली जान्छ बिजुली

दैनिक दर्जनौंपटक बिजुली जानेआउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ

प्रमिला कुँवर २०८० साउन १४ गते ११:०३

पोखरा ।
बिहान १० बजे बत्ती गयो । १२ बजे आयो । फेरि गयो । २ बजे आयो । अनि फेरि गयो । पोखराको नयाँबजार क्षेत्रमा शनिबार बत्ती कतिपटक गयो र आयोको हिसाबै रहेन । शनिबारमात्रै होइन हरेक दिन यस्तै हुँदै आइरहेको छ । अचेल बिजुली आउने र जानेको टुंगो छैन ।

Advertisement


भद्रकाली गौंडाको मुखमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका दीपक लामाले विद्युतका आपूर्ति बन्द हुँदा काम नगरी आनन्दले बस्न पाइएको ठट्यौली पारमा सुनाए । विद्युत प्राधिकरणले पूर्वसूचना बिना विद्युत कटौती गर्नाले उद्योग सञ्चालनमा समस्या आएको उनले बताए । ‘दिनमा ३/४ पटक बिजुली जान्छ दिनमा घण्टौं विद्युत कटौती हुन्छ होला,’ उनले भने, ‘लोडसेडिङको तालिका छैन काम अस्तव्यस्त भएको छ, यस्तै अवस्था रहे उद्योग सञ्चालन गर्न सकिँदैन ।


काम कम हुँदा त समस्या भएन तर काम प्याक भएको बेलामा विद्युत अनियमित हुँदा घाटा लाग्ने तथा मेसिन र कच्चा पदार्थ बिग्रने गरेको उनले सुनाए ।


ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका सिन्धुलीका लामाले ८ वर्ष फर्निचर उद्योग खोलेका हुन् । अर्काको काम गर्न गाह्रो हुने र काम अनुसारको ज्याला नपाउँदा उनले आफैले व्यवसाय सञ्चालन गरेका हुन् । कोरोना महामारी भन्दा अघि सम्म व्यापार राम्रो चलेको त्यसपछि व्यापार सुस्ताएको उनी बताउँछन् ।


‘देशमै गरौं भनेर विदेश गइएन, देशमा बाँच्नै गाह्रो छ, कोरोना महामारी, आर्थिक मन्दीले व्यापार सुस्ताएको छ अहिले फेरि विद्युतले समस्या पारेको छ,’ उनले भने, सरकारले युवालाई विदेश जानबाट रोक्न सकेको छैन, यही भएका युवाको मुखबाट देशमा बसेर काम छैन मात्र भनेको सुनिन्छ, केही गर्छु भन्नेलाई सरकारको साथ सहयोग नै छैन ।’

Advertisement

उद्योग चलाउनै नसक्ने अवस्थामा भएको छ, औद्योगिक क्षेत्रमा कहिल्यै बिजुली नजाने व्यवस्था गर्नुपर्छः पवन प्रजापती, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ


नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा सानाठूला उद्योग, व्यवसाय मारमा परेका छन् दैनिक दर्जनौंपटक बिजुली जानेआउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ ।


मासु व्यवसायी मनबहादुर क्षेत्रीको पनि उस्तै समस्या छ । विद्युत नहुँदा फ्रिज बन्द हुन्छ जसले मासु बिग्रेर ठूलो क्षति व्यहोर्नुपरेको छ । व्यवसाय नै सुस्ताएको बेला विद्युतले थप पीडा दिएको उनले बताए ।


‘मासुको मूल्यमा अनियमितता भएर समस्या खेपिरहेको बेला विद्युतले झन् घाउमा नुन छर्कने काम गरेको छ,’ उनले भने ‘व्यवसायीका लागि कानुन बनेको छैन मासु व्यवसायी संघले नै हाम्रो समस्या बुझ्दैन, १ किलो मासु ४५० मा किनेर ल्यायो केही दिनमै संघले किलोको ४०० तोकिदिन्छ, हामी कसरी बाँच्ने ? उनले प्रश्न गरे ।


विद्युत अवरोधले साना उद्योग संकटमा परेको उद्योगी बताउँछन् । सानातिना व्यवसायका लागि इन्भर्टर जडान खर्चिलो हुने भएकाले वैकल्पिक उपाय पनि प्रयोग गर्न नसकेको उनीहरुको गुनासो छ । बीचबीचमा विद्युत् जाने समस्याले सामान बिग्रने, उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको, कच्चा पदार्थसमेत नष्ट हुने गरेको उद्योगीहरुले समस्या छ ।


सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमा विद्युत सेवा उपलब्ध नहुँदा काममा बाधा पुगेको सरोकार व्यक्तिको गुनासो छ । इलोक्ट्रोनिक पसलमासमेत विद्युत भार कटौतीको असर परेको छ । विद्युतबाट प्रिन्ट, फोटोकपी, इमेल फ्याक्सलगायत काम गर्न कठिन भएको उनीहरुले बताए । नियमित विद्युत नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उनीहरुको गुनासो थियो ।


अघोषित लोडसेडिङबाट विद्यार्थी, सर्वसाधरण पनि निकै प्रभावित भएका छन् । विद्युत नहुँदा होमवर्क गर्न, पढ्न समस्या भएको विद्यार्थीहरुको गुनासो छ । अनियमित विद्युतले फ्रिज, टिभी, मोबाइल लगायत विद्युतीय उपकरण बिग्रने पड्कने जस्ता समस्या सिर्जना भएको सर्वसाधारण सुनाउँछन् । विद्युत् प्राधिकरणको लापरबाहीले समस्या आएको जनगुनासो छ ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्षले पवन प्रजापती समस्याका बारेमा प्राधिकरणलाई अवगत गराए पनि प्राधिकरणले बेवास्ता गरेको बताउँछन् । विद्युत अवरोधले उद्योगी मारमा परेको उनले तर्क गरे । ‘उद्योग चलाउनै नसक्ने अवस्थामा भएको छ, औद्योगिक क्षेत्रमा कहिल्यै बिजुली नजाने व्यवस्था गर्नुपर्छ,’ उनले भने । प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो उनले गरे ।


‘बिजुलीलाई आवश्यक पर्ने पानी प्रशस्त छ, अहिले बिजुली जाने बेला नै होइन, निर्माणका काम र विद्युत स्तरोन्नतिको काम चलिरहेकाले समय–समयमा विद्युत अवरोध भएको छ,’ उनले भने, औद्योगिक क्षेत्रमा विद्युत प्रवाह नियमित गराउन नसके पनि कम्तीमा पनि उद्योग समयमा बिजुलीको अवरोध गराउनु हुँदैन ।’
पटकपटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदै आएको र अब छिट्टै विज्ञप्ति निकालेर र ध्यानाकर्षण गराउने योजना रहेको उनले सुनाए । समस्याको पूर्णकालीन समाधान सम्भव नभए पनि वैकल्पिक समाधान खोज्नुपर्ने उनले धारणा राखे ।


हावाहुरी, पानी बतासका कारण सिस्टमबाट आफैं लाइन काटिने विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए । बर्खाको समयमा सधैं यस्तै हुने र अझै १ महिना विद्युत अनियमित हुने उनी बताउँछन् ।

जहाँ ३ दिनसम्म पनि जान्छ बिजुली
माछापुच्छ्रे हिमालको फेदीबाट सेती नदी बग्छ । माछापुच्छ्रे गाउँपालिकामा सेतीनदीबाहेक पनि खोलाहरु छन् । ती खोलाबाट बिजुली पनि निकालिएको छ । तर यही गाउँपालिकाका अधिकांश गाउँमा भने अचाक्ली बत्ती जान्छ । स्थानीय भन्छन्, ‘कहिलेकाहिँ त ३ दिनसम्मै अँध्येरो हुन्छ, बिजुली गएपछि टेलिफोन पनि चल्दैन ।’


बिजुली गएपछि फ्रिज चल्दैन, टेलिफोन चल्दैन र अरु विद्युतीय उपकरण पनि नचल्दा पर्यटकीय व्यवसायमा निकै सकस हुने गरेको माछापुच्छ्रे ८ का वडा सदस्य अमृत गुरुङ बताउँछन् । विद्युत प्राधिकरणमा गुनासो टिपाउँदा पनि बेलामा सुनुवाइ नहुने उनको गुनासो छ ।


त्यसो त गाउँतिर वनजंगल हुँदैसमेत बिजुलीका पोल र तारहरु गएको हुँदा निकै जोखिम हुने गरेको स्थानीय बताउँछन् । पोहोरसालमात्रै लाहाचोकमा चुँडिएको तारबाट करेन्ट लागेर स्थानीय एकजनाको ज्यानै पनि गएको थियो । स्थानीय भन्छन्, ‘त्यस्तो जोखिम अझै छ, कहिले कतै तार झुन्डिएको देखिन्छ, कहिले कतै लत्रिएको । कतै चुँडिएको पनि हुन्छ । थोत्रा पोल छन्, कमजोर तार छन् ।’


सैंदी पावर, गण्डकी हाइड्रो र इदी मर्दी जस्ता जलविद्युत आयोजना पनि उक्त क्षेत्रमा छन् । तीमध्ये एउटैको उत्पादन गाउँपालिकाभरिलाई पुग्दो बिजुली हुन्छ । तर बिजुली उत्पादन भएर के गर्नु ? त्यसको नियमितता नहुँदा स्थानीयले सास्ती खेपिरहनुपरेको छ ।


विद्युत प्राधिकरणका इन्जिनियर सजीवश्री रम्तेल भने संरचना पुरानो हुँदा समस्या आउने गरेको बताउँछन् । भन्छन्, ‘भार थपिएको छ, तर संरचना बढेको छैन, नयाँ पनि छैन ।’ ट्रान्सफर्मरहरु पनि थप्नुपर्ने र फेर्नुपर्ने खाँचो उनी औंल्याउँछन् । तर लाहाचोकबाट हेम्जा जोडिएपछि र नयाँ सबस्टेसन बनेपछि बत्ती जाने आउने क्रम घटेको उनको दाबी छ । स्थानीय भने बत्तीको ठेगानै नहुँदा अति नै दुख भएको बताउँछन् । उनीहरुको गुनासो पनि त्यही छ कि—पुरानो संरचना भए फेर्नुपर्‍यो, बिजुली जाँदा बेलैमा मर्मत गरेर लाइन दिनुपर्‍यो, गुनासो सुनुवाइ हुनुपर्‍यो ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया