सम्पादकीय: फोहोर व्यवस्थापनको सकस

पोखरा महानगरपालिकामा ५ दिनदेखि फोहोर उठेको छैन । पोखरा ३२ लामेआहालमा अस्थायी रुपमा फोहोर व्यवस्थापन थालेको पनि पुसदेखि हो । तर स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि महानगरले फोहोर उठाउन सकेको छैन । व्यवस्थापन गतिलो भएन भनेर स्थानीयले अवरोध गरेका छन् । छिनेडाँडा बाच्छेबुडुवाको ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सुरु भएयता बन्द गर्नुपर्ने भयो ।
त्यो अभरमा पोखरा ३२ का बासिन्दाले त्यहाँ फोहोर व्यवस्थापनका लागि खुला हृदय देखाएकै हुन् । तर त्यही फोहोरको व्यवस्थापन गतिलो नहुँदा दुर्गन्ध फैलिएको मात्रै छैन, स्थानीयको कृषि फर्महरुदेखि मानव स्वास्थ्यमा पनि नकारात्मक असर गरेको छ । फोहोर व्यवस्थापन उचित तवरले गरिनुपर्छ । स्थानीयका माग सम्बोधन गरिनुपर्छ । सडक हिलाम्मे भएको छ भने त्यसलाई सफाचट बनाउने कर्तव्य पनि महानगरपालिकाले पूरा गर्नुपर्छ ।
फोहोर अबका दिनमा ल्यान्डफिल साइटमा लगेर थुपार्ने होइन । त्यसै कुरालाई आत्मसात गर्दै पोखरा ३३ झाँक्रीखोला र देब्रेखोलामा प्रशोधन केन्द्र निर्माण गर्न महानगरपालिकाले प्रक्रिया थालेको छ । हो, फोहोर प्रशोधन केन्द्र आधुनिक प्रकारको हुनुपर्छ । फोहोरकै कारण प्रदूषण थप हुनु हुँदैन । अचेल विश्वमा फोहोरबाटै मोहोर बनाउन सकिने प्रविधि विकास भइसकेको छ ।
विकसित देशहरुले फोहोरबाटै बिजुली उत्पादन गरिरहेका छन् । ग्यास उत्पादन गरिरहेका छन् । वायु प्रदूषण नहुने तौरतरिका विकास भइसकेको परिप्रेक्ष्यमा पोखराले पछिल्लो प्रविधि भिœयाउन जरुरी छ । त्यसो त पोखरा महानगरपालिकाले प्रशोधन केन्द्र निर्माणका लागि ग्लोबल टेन्डरको प्रक्रिया थालिसकेको छ । पोखरा ३३ मा जग्गा अधिग्रहणको प्रक्रिया पनि थालिसकेको छ ।
पोखरा ३२ मा अस्थायी रुपमै भए पनि फोहोर थुपारिएको हुँदा अहिलेलाई त्यहाँको बन्दोबस्तीमा पनि महानगरले ध्यान दिन जरुरी छ । भोलि पोखरा ३३ मा लैजाँदा पनि स्थानीयलाई चित्त बुझाउन सक्नुपर्छ । फोहोर व्यवस्थापनको ठाउँ भइसकेपछि त्यहाँका बासिन्दाले अरु ठाउँको भन्दा केही विशेष अधिकार र विकास पाए भने न त्यहाँ सन्तुष्टि हुने हो । फोहोर फाल्ने पनि र वास्ता पनि नगर्ने हुँदा नै स्थानीयले विरोध जनाउने हो ।
जहाँ पनि र जुन पूर्वाधार निर्माण गर्दा पनि राज्यले स्थानीयलाई सधैं हेप्ने, पेल्ने र अधिकारविहीन बनाउने हुँदा विरोधै विरोध देखिन्छ । राज्यले सम्झौता गरे पनि त्यसको पालना गर्दैन भन्ने परिसकेको छ । महानगरपालिकाले भने त्यसो नगरोस्, जनतालाई विकास र निर्माण तथा अन्य छुट, सहुलियत तथा विशेष अधिकारसमेत आउँछ भन्ने ग्यारेन्टी पहिल्यै गरोस् र फोहोर प्रशोधन केन्द्र छिटोभन्दा छिटो निर्माण गरोस् । अहिलेलाई चाहिँ पोखरा ३२ लामेआहालका बासिन्दाको माग पूरा गरी फोहोर व्यवस्थापन होस् ।
तपाईको प्रतिक्रिया