
जोमसोम ।
उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडकमा ६ अर्ब ५९ करोड ६६ लाख बजेट खर्च भएको छ । कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि उपल्लो मुस्ताङको कोरला नाकासम्मको १ सय किमी कालोपत्र सडक, १ सय २ किमी ग्राभेल सडक र १६ वटा सडक पुलका लागि आर्थिक वर्ष २०७९/०८० को असारसम्ममा यो बजेट खर्च भईसकेको आयोजनाले जनाएको छ ।
२०७४/०७५ देखि सुरु कोरला सडकको गत वर्षसम्ममा सय किमी कालोपत्रमा २८ दशमलव १ किमी र ग्राभेल सडकतर्फको १ सय २ किमी सडकमा ९७ किमी सडकको काम सकिएको थियो । कोरला सडक अन्तर्गत ४ दशमलव ३१ किमीमा आरसिसी सडक निर्माण भइसकेको छ ।
कोरला सडक अन्तर्गतका ५ पुल सम्पन्न भइसकेका छन् भने ११ पुल निर्माणाधीन छन् । राष्ट्रिय गौरवको कोरला सडकको मालढुंगादेखि बेनीसम्मको १३ किमी सडकको भौतिक प्रगति २८ प्रतिशत, बेनी—गलेश्वर ३.३० किमी सडकको भौतिक प्रगति ८२ प्रतिशत, गलेश्वर—राहुघाट सडक १ दशमलव ७८ किमी कालोपत्रको भौतिक प्रगति शतप्रतिशत, गलेश्वर—तातोपानी १९ किमी सडक भौतिक प्रगति ८२ प्रतिशत र तातोपानी घाँसा १७ दशमलव ५ किमीको कालापत्र सडकको भौतिक प्रगती ७५ प्रतिशत रहेको आयोजना प्रमुख जगत प्रजापतीले उल्लेख गरे ।
कोरला सडक अन्तर्गत मुस्ताङ खण्डको घाँसा कोवाङ १६ दशमलव ५ किमी कालोपत्रमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने कोवाङ जोमसोम १६ दशमलव ५ किमी कालोपत्र सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ ।
जोमसोम कागबेनी १३ किमी कालोपत्रे सडकको भौतिक प्रगति १४ प्रतिशत छ भने कागबेनी कोरला १ सय २ किमी ग्राभेल सडकको भौतिक प्रगति ९५ प्रतिशत रहेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।
छाक्ताङमा अस्थायी पुल बन्दै
उत्तरी कोरलानाका जोड्ने ७६ किमीको बेनी जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ २ छाक्ताङ खोला निर्माणाधीन पुल नजिकै अस्थायी पुल निर्माण थालिएको छ । बर्खा याममा छाक्ताङ खोलाको बहाव उच्च हुन थालेपछि सवारी साधन तथा पैदल यात्रु आऊजाऊ गर्न अस्थायी पुल बनाउन थालिएको हो ।
अस्थायी पुल निर्माण गरी सवारी आऊजाऊ सहज बनाउन थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले पहल गरेका हुन । अस्थायी पुल निर्माणमा निर्मल स्पोर्टिङ क्लबका अध्यक्ष एवं स्थानीय महेन्द्र गौचनले सहजीकरण गरेका छन् । अस्थायी पुल निर्माणका लागि बेनीमा जगेडा रहेको बिमलाई मुस्ताङ ल्याएर पालिकाको खर्चमा दुईतर्फी ग्याबिन वाल उठाएर जडान गर्न लागिएको क्लबका अध्यक्ष महेन्द्र गौचनले जानकारी दिए ।
उनले २/३ दिनभित्रै अस्थायी पुल सञ्चालनमा आउने सुनाए । ‘करिडोर सडकको पुल निर्माणाधीन अवस्थामा छ, पुल बन्न समय लाग्ने देखिन्छ,’ उनले भने, ‘छाक्ताङ खोलाको वाहव उच्च छ, सवारी आरपार गर्न पनि सास्ती हुन्छ ।’ छाक्ताङमा निर्माण गर्न लागिएको अस्थायी पुलमाथि पश्चिममा राष्ट्रिय गौरवको कोरला सडक आयोजनाले ८० मिटर लामो पुल बनाउँदै छ । पुल निर्माणका लागि कालिका गजुरमुखी जेभीले ७ करोड ४२ लाख लागतमा ठेक्का सम्झौता गरेको हो । पो पुलको पछिल्लो भौतिक प्रगति ८३ प्रतिशत छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया