दाहालको ‘भुवा’ पोखरा आइपुग्यो

समाधान संवाददाता २०८० साउन १४ गते १२:५०

पोखरा ।
साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरियो ।

Advertisement


लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जीवन नै कथा जस्तै भएको उल्लेख गर्नुभयो । सरुभक्तले भने, ‘जन्मदेखि नै कथा सुरु हुन्छ । बाचुञ्चेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुंगिन्छ कि टुंगिदैन भन्ने पनि थाहा छैन ।’


नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले आयतनले मात्र लघुकथा बन्न नसक्ने औंल्याउँदै यसको भाव र संरचनालाई एकसाथ अंगीकार गर्नुपर्नेमा जोड दिइन् । साहित्यकार हरिदेवी कोइरालाले ‘भुवा’मा जीवनका धेरै कथा सुन्दर रुपमा कुँदिएको सुनाइन् ।


समीक्षक डा भूमिराज बस्ताकोटीले कृतिमा पारिवारिक, सामाजिक र राजनीतिक विषयको प्रधानता रहेको उल्लेख गरे । जनजीवनमै देखिएका, सुनिएका तर सामान्य पाठकले याद नगरेका पक्षहरुलाई कथाकारले सटिक रुपमा सिर्जनामा उतारेको उनको भनाइ छ । कृतिकार दाहालले पाठक, समीक्षकको सुझाव अनुसार आगामी सिर्जना यात्रा परिमार्जित गर्दै अघि बढ्ने प्रण गरे ।


प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाले २०७४ मा स्थापना भएको प्रतिष्ठानले नियमित लघुकथा वाचनसहित विविध कार्यक्रम गर्दै आएको उल्लेख गरे । उपाध्यक्ष कल्याण पन्तले लघुकथा तन्काएर कथा र कथा खुम्च्याएर लघुकथा बनाउन खोजे सिर्जना दुर्घटित हुने जनाए । कार्यक्रममा प्रतिष्ठानका सचिव अमृत क्षेत्रीले पनि बोलेका थिए ।

Advertisement


दाहालको यो पाँचौ कृति हो । झापामा जन्मेर तनहुँमा कर्मथलो बनाएका दाहालका यसअघि मधुरिमा, उद्वेलित मनहरु, यी मान्छे, यी नजर गजल सञ्चयन र कृविको मृत्यु कविता सञ्चयन प्रकाशित छन् । ५१ लघुकथा संगृहित कृतिको मूल्य २ सय ५० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया