घेराबन्दी तोड्न एकता जरुरीः विष्ट

पोखरा ।
एमाले कास्कीले अगुवा कार्यकर्ताका लागि शनिबार अनुशिक्षण आयोजना गरेको छ । नेता तथा कार्यकर्तालाई पार्टीका नीति र विचारले प्रशिक्षित बनाउन कार्यक्रम गरिएको अध्यक्ष मनबहादुर गुरुङले बताए ।
पार्टीका केन्द्रीय कमिटीका सचिव गोकर्ण बिष्टले एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिइने बताए । पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टीका, टिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।
‘नकारात्मक टीका, टिप्पणी नगर्नुस् । त्यसका लागि आजबाट प्रतिबद्ध बन्नुस्’ उनले भने, ‘एकमना एकताका साथ पार्टीको काममा जुटौं । यो काम कास्कीबाट सुरुवात गरांै ।’ नेता विष्टले विचार र भावनाका साथ अगाडि बढ्न सबैमा आग्रह गरे । उनले कोही कसैको मन मुटाव भए त्यसलाई चासो नदिने उल्लेख गरे ।
उनले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको एजेन्डालाई अगाडि सारेको एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएका आरोप लगाए । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउन ध्यान दिएको उनले जानकारी दिए ।
शोषणरहित समतामूलक समाज स्थापना गर्ने योजना र चाहना पूरा गर्न पार्टी लागेको दाबी गर्दै उनले रोजगारीको सिर्जना र उद्यमशीलता विकास गरी जनताको जीवन स्तर सुधारमा ध्यान दिने बताए । उनले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गरे ।
एमाले स्थायी समितिका सदस्य खगराज अधिकारीले पार्टी सरकारमा रहँदा सधै प्रगतिशील सुधारका कार्यक्रम गरेको दाबी गरे । कमिटी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न सबै कार्यकर्तालाई आग्रह गरे । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन निर्देशन दिए ।
पार्टीकी स्थायी समितिका सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त, दुरुस्त बनाए जुनसुकै आन्दोलनमा समेत सफलता मिल्ने तर्क गरिन् । उनले पार्टीको जनाधारलाई बलियो बनाउन ध्यान दिने उल्लेख गरिन् ।
नेता सोमनाथ अधिकारी ‘प्यासी’ले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गरे । कमिटीमा बस्नेलाई जिम्मेवारी बोध गर्न निर्देशन दिँदै उनले कम्युनिस्ट पार्टी सामूहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी हुने तर्क गरे ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी सचिव बैनबहादुर अधिकारी क्षत्रीले सदस्यता नवीकरणमा ढिलाई नगर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया