स्वास्थ्यका कर्मचारीकाे काज फिर्ता

समाधान संवाददाता २०८० साउन १८ गते ११:५४

पोखरा ।
पोखरा महानगरपालिकामा काजमा आएका ४४ जना कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता भएका छन् । उनीहरुलाई असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेको थियो । तर, हालसम्म सो कर्मचारी फिर्ता भएका थिएनन् ।

Advertisement


महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनू भन्दै पत्र काटेपछि ती कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता भएका हुन् । उनीहरुलाई महानगरमा हाजिर गराउन रोक लगाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अचेल कोरोना महामारी नरहेको र लामो समयसम्म काजमा रहँदा स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवामा असर पर्न गएको भन्दै साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन असार २५ गते सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।


कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरूमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत्तत स्थानीय तहमा मिति २०८० साउन १ गतेदेखि लागु हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिन सबै स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको थियो ।


काजका कर्मचारी फिर्ता गर्ने निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले साउन ८ गते दोस्रो पटक परिपत्र र्गयो । कानुनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानुनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानुनी आधार नभएकाले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न भन्दै मन्त्रालयले दोस्रोपटक स्थानीय तहलाई पत्राचार गरेको थियो ।


सोही आधारमा महानगरपालिकाले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरुलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया